
हेटौँडा/ बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले जनतालाई उत्पादनसँग जोड्न सकेमात्र सरकारले गरेका विकासको कामले सार्थकता पाउने बताएका छन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जिवनस्तरमा परिवर्तन ल्याउन सकेमात्र विकास गरेको ठहर हुने बताए । निर्वतमान मुख्यमन्त्री पौडेलले तीनै तहका सरकार भौतिक विकासलाई केन्द्रीत भएको भन्दै सबै क्षेत्रको समान विकास गरेर जनतालाई उत्पादनसँग जोड्दै उत्पादनमा आधारित आर्थिक अनुदानका कार्यक्रम गर्नसके मात्र सरकारले विकास गरेको ठहर हुने बताए ।
देशमा कायम रहेको तीन तहको सरकारको समन्वयमा विकासका योजनाहरु अघि बढाउनुपर्ने उनको भनाई थियो । तीनै तहका सरकारका बीच समन्वयको अभावका कारण हरेक योजनाहरु दोहोरिने समस्याहरु भोग्नु परेकाले त्यसतर्फ ध्यान दिन समेत उनले सुझाव दिए । एउटै योजनामा तीनै तहका सरकारले लगानी गरेको भन्दै उनले एउटै योजनामा दोहोरो भन्दा पनि तेहरो लगानीका कारण समस्या भएको बताए । निर्वतमान मुख्यमन्त्री पौडेलले तीनै तहका सरकारले अध्ययन र अनुसन्धान गरी उत्पादनमा केन्द्रीत भएर जनताबाट कर उडाएर पारदर्शी रुपमा विकासका कामहरु अघि बढाउनुपर्ने बताए । विकास निमार्णको काम गर्दा जनताबाट उठाएको करमा निर्भर नभइ स्थानीय तहहरुले वैकल्पिक स्रोतको खोजी गरी आन्तरिक आयलाई बढाउनुपर्ने उनको भनाई थियो । कार्यक्रममा निर्वतमान मुख्यमन्त्री पौडेलले विपक्षी गठबन्धनले देशको राजनीतिमा असन्तुलन ल्याएको बताए । विपक्षी गठबन्धनले केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरण नै बदलेर देशको राजनीतिमा असन्तुलन ल्याएको उनको भनाई थियो ।
जिल्ला समन्वय समिति जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको सभाध्यक्षता एवम् बागमती प्रदेशका मुख्यमन्त्ती अष्टलक्ष्मी शाक्यको प्मुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिब किरणराज शर्मा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्रतिनिधिसभा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, बागमती प्रदेश सभा सदस्य मुनु सिग्देल, मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला समन्वय अधिकारी आनन्दराज पोख्रेल, १० वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधिहरुको सहभागिता थियो । जिल्ला समिक्षामा विभिन्न जिल्लाका १० वटै स्थानीय तह एवम् जिल्ला स्थित सरकारी कार्यालयहरुले आर्थक वर्ष २०७७/०७८ मा सम्पन्न गरेका कार्यक्रमहरुको प्रस्तुति गरेका थिए ।

