
हेटौँडा/ नेकपा एकीकृत समाजवादी० बागमती प्रदेशको संसदीय दलको सोमबार बसेको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य कृष्ण प्रसाद खनाललाई चयन गरेको छ । संसदीय दलको कार्यालय हेटौंडामा बसेको बैठकले खनाललाई दलको उपनेतामा चयन गरेको हो । आइतबार बसेको बैठकले दलको नेताका रूपमा राजेन्द्र प्रसाद पाण्डेलाई चयन गरेको थियो ।
बैठकले दलको प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मतले चयन गरिएको दलका नेता पाण्डेले बताउनुभयो ।
त्यस्तै, बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि गठबन्धनमा सामेल भएका दलहरू नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दलका नेता पाण्डेलाई दिइएको छ । भने तीन दलको सरकार निर्माण भएपश्चात सरकारको तर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न प्रदेशसभा सदस्यहरू माधव प्रसाद पौडेल, बसन्त प्रसाद मानन्धर , मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मा दिइएको नेकपा एकीकृत समाजवादीले जनाएको छ ।
त्यस्तै ५६ प्रदेशसभा सदस्य रहेको बागमतीमा १३ जना नेकपा एकीकृत समाजवादीका सांसदहरू रहेको हुनाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत गुमाइसकेको र अल्पमतमा परेको जनाइएको छ । मुख्यमन्त्री शाक्लाई नेकपा एसले समर्थन नभएको भनी निर्णयानुसार प्रदेश सभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र पठाइए सकेको दलका नेता पाण्डेले बताउनुभयो ।

