हेटौँडा/ नेपाली काँग्रेसको आसन्न चौधौँ महाधिवेशनमा महिलाको प्रतिनिधित्व र सहभागिता बढेको छ । तर वडा अधिवेशनबाट वडा सभापतिमा निर्वाचित महिलाको सङ्ख्या एक प्रतिशत पनि पुगेन । मकवानपुरको १०२ वटामध्ये एउटामा मात्र महिला वडा सभापति निर्वाचित हुनुभएको छ ।
भीमफेदी गाउँपालिका वडा नं. २ को वडा सभापतिमा सानु थापा निर्वाचित हुनुभएको हो । अधिकांश वडामा सर्वसम्मत् सभापति र क्षेत्रीय प्रतिनिधि चयन भएको थियो । थापा भने चुनावी प्रतिस्पर्धाबाट वडा सभापति बन्नुभएको छ । वडा सभापतिमा मात्र निर्वाचन भएको उक्त वडामा थापाले महिला प्रतिस्पर्धिलाई नै पराजित गर्दै निर्वाचित हुनुभएको थियो ।
उक्त वडामा ७६ क्रियाशील सदस्य रहेकोमा ६९ मत खसेको थापाले ४० मत प्राप्त गरी सुमित्रा नेगीलाइ हराउनुभएको थियो । नेगीले २७ मत प्राप्त गर्नु भयो भने दुई मत बदर भयो । काँग्रेसको १२ औँ महाधिवेशन अगावैबाट काँग्रेसको क्रियाशील सदस्य रहनुभएकी सानुले पुरुष क्रियाशील सदस्यहरुले वडा सभापतिमा रुची नदेखाएको र क्षेत्रीय प्रतिनिधिमा नै जाने भएपछि आफूले वडा सभापतिमा दावी गरेको बताउनुभयो ।
उहाँले प्रतिद्धन्द्धी नेगीलाई पालैपालो वडामा नेतृत्व गर्न आग्रह गरे पनि सहमति नभएपछि स्वस्थ प्रतिस्पर्धा गरेका बताउनुभयो । उहाँले भन्नुभयो, अब मिलेरै जान्छौ, आगामी स्थानीय तहको निर्वाचनमा वडासँगै पालिकामा काँग्रेसलाई जिताउनु र जनताको पक्षमा काम गर्नु आफ्नो एक मात्र लक्ष्य हो । पिताको प्रेरणाले राजनीतिमा लागेको बताउनु हुने सानुका पिता नारायण थापा यसअघि साविक भैँसे गाउँ विकास समितिका सभापति हुनुहुन्थ्यो ।
महिलाहरु चुल्हो चौकोमा सीमित रहेकोले उनीहरुको चेतना र सामाजिकसँगै आर्थिक जीवनमा टेवा पुगोस् भने राजनीतिमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, दुई कार्यकाल नेपाल महिला सङ्घको गाउँ सभापति भएर काम गरेको अनुभव पनि छ, उहाँले भन्नुभयो समाजमा पछाडि पारिएका महिला दिदी बहिनीको आर्थिक र सामाजिक परिवर्तनका लागि काम गर्छु । महिलालाई उपसभापतिमा राखेर १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको बताउँदै उहाँले वडा धेरै नै विकट भएकोले अन्य दलसँग प्रतिस्पर्धा गरी काम गरेर देखाउने चुनौती रहेको बताउनुभयो ।
काँग्रेस जिल्ला निर्वाचन अधिकृतको सचिवालयले मकवानपुरमा १०२ जना वडा सभापतिसहित वडा अधिवेशनबाट एक हजार ७७९ जना निर्वाचित भएको जनाएको छ । क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष खुलामा ६१९ जना, प्रत्यक्ष महिलामा ३०४, खस आर्य महिलामा ४९ जना, खस आर्य खुलामा १८२ जना, आदिवासी जनजाति खुलामा २५४ जनादलितमा ७८ जना, अपाङ्गता, अल्पसङ्ख्यक र तेश्रो लिङ्गी गरी ५५ जना, मुस्लिम १० जना, मधेशी २२ जना र थारु तीन जना निर्वाचित भएका छन् ।
क्षेत्रीय प्रतिनिधिमा केन्द्रीय सदस्य, प्रदेश सभाका सदस्य, समानुपातिक बन्द सूचीमा परेकाहरु, प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनमा प्रतिस्पर्धा गरेका, जिल्ला सभापति, प्रतिनिधि सभा क्षेत्रका सभापतिलगायत थपिने छन् ।
-गोरखापत्रमा प्रकाशित समाचार






















