मनहरी बागमती प्रदेशकै सबैभन्दा बढी कानून निर्माण गर्ने गाउँपालिका

हेटौडा टुडे
१ आश्विन २०७८, शुक्रबार १५:४८

हेटौँडा/ मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले आफुहरुले बागमती प्रदेशकै सबैभन्दा बढी ऐन, कानून, नियमावली तथा कार्यविधि निर्माण गरेको दावी गरेका छन् । सिडिओ नेपालद्वारा मनहरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले कानून निर्माण गर्ने सन्दर्भमा मनहरी प्रदेशकै अब्बल भएको बताए ।

उनले भने, ‘हामीले यो चार बर्षको अवधिमा स्थानीय सरकार संचालन ऐनको २२ वटा अधिकार प्रयोग गरी ६१ वटा ऐन, कानून, नियमावली तथा कार्यविधि पास गरिसकेका छौँ । मनहरी प्रदेशका १ सय १९ स्थानीय तहमध्ये दोस्रो सबैभन्दा धेरै कानून निर्माण गर्ने स्थानीय तह हो । काठमाडौँ महानगरपालिकाले सबैभन्दा धेरै कानून निर्माण गरेको छ । तर, गाउँपालिकाको हकमा मनहरी पहिलो हो ।’

उनले अझै ४र५ वटा कानून निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए । उनले अबको ३ महिनाभित्रमा निर्माण गरिएका ऐन कानून समावेश गरेर किताव प्रकाशन गरी पालिकाभित्रका सम्पूर्ण निकायमा पुर्याइनेसमेत बताए । कानून निर्माण गर्दा विषेशगरी शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयलाई प्राथमिकता दिइएको उनले बताए । त्यस्तै स्थानीय समाज सुधार, ‘घ’ वर्गका ठेकेदारलाई लाइसेन्स प्रदान, खानेपानीको मुहान दर्ता, घरनक्सा पासलगायतका ऐन निर्माण गरिएको छ ।

४ बर्षे कार्यकालको समिक्षा गर्दै अध्यक्ष उप्रेतीले आफुहरु जग बसाल्ने समयमा निर्वाचित भएता पनि उल्लेख्य कामहरु भएको बताए । उनले मनहरी गाउँपालिका देशकै पहिलो बालमैत्री गाउँपालिका भएको स्मरण गरे । त्यस्तै खरको छाना मुक्त गर्ने, जनमुखी आवास कार्यक्रम, पालिकाका आर्थिक अवस्था कमजोर भएका ५ हजार जनाको निशुल्क स्वास्थ्य बीमालगायतका कार्यक्रम भएको बताए ।

आफ्नो नेतृत्वमा डिपिआर तयार गरी ५४ करोड लागत अनुमानको मदन भण्डारी रंगशाला निर्माण भइरहेको, कोरोना अस्पताल निर्माण गरिएको उनले सम्झिए । उनले ४ बर्षको अवधिमा अधिकाँश वडाको आफ्नै भवन निर्माण सम्पन्न भइरहेको र केही निर्माणाधीन अवस्थामा रहेको बताए । केही दिनभित्रमा नै गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम समेत अघि बढाइने उनको भनाई छ । तू खबरबाट साभार

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*