कांग्रेस मकवानपुरगढीको सभापतिमा अर्जुन दाहालको उम्मेदवारी

टुडे संवादाता
८ आश्विन २०७८, शुक्रबार १३:५३

हेटौँडा/ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनाव सुरु भएको छ । पहिलाको तुलनामा यस पटक कांग्रेसमा युवा पुस्ताको सक्रियता बढेको छ । भदौ २७ गतेका लागि तय भएको स्थानीय, नगर/पालिकाको अधिवेशन आगामी असोज ९ गतेका लागि सारिएको थियो । महाधिवेशन चुनावका लागि स्थानीय क्षेत्रमा कांग्रेस नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

यसै बीच कांग्रेस मकवानपुरका जिल्ला सदस्य अर्जुन दाहालले नेपाली कांग्रेसको अधिवेशनमा मकवानपुरगढी गाउँपालिकाको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । गढी गाउँपालिकाको सभापति पदमा कुल ४ जनाले उम्मेदवारी दिएका छन् । सानै उमेरदेखि नै राजनीतिमा चासो राख्ने दाहाल तत्कालिन समयमा पञ्चायती व्यवस्था तथा २०६२/६३ मा पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमो निरंकुश राजतन्त्रविरुद्ध अग्रभागमा रहेर आवाज उठाउनुको साथै पार्टीका विभिन्न आन्दोलनका कार्यक्रममा समेत सहभागि भएका थिए । दाहाल वि.सं.२०४६ सालको आन्दोलन पछि राजनीतिमा सक्रिय रुपमा अगाडि बढेका हुन् ।

वि.सं.२०३१ बैशाख १८ गते तत्कालिन मकवानपुरगढी गाविसमा जन्मिएका दाहाल विद्यार्थी उमेरमा नै उनले आधिकारिक रुपमा नेपाल विद्यार्थी संघ (नेवि संघ) मार्फत राजनीतिमा पाईला टेकेका हुन ।  रगढी गाविसमा जन्मिएका दाहाल गाउँ कै श्री भानु माविमा कक्षा ७ सम्म अध्ययन पुरा गरेर कक्षा ८ मा अध्ययनका लागि हेटौंडा उपमहानगरपालिका वडा नं ६ मा रहेको श्री वंशगोपाल माविमा भर्ना भइ त्यहीबाट एसएससीसम्मको अध्ययन पुरा गरेका थिए । त्यस पश्चात भने दाहाल निरन्तर कांग्रेसको विभिन्न भातृ तथा शुवेच्छुक संगठनमा आवद्ध रहेर क्रियाशील रुपमा काम गरि अनुभव पनि बटुले ।

नेपाली कांग्रेसको १२ औँ महाधिवेशनबाट दाहाल क्रियाशील सदस्य भए । क्षेत्र नं १ को सचिवका रुपमा काम गरी उनले कार्य कुशलता प्रदर्शन गरे । यस्तै, कांग्रसको १३ औं अधिवेशनबाट पार्टीको जिल्ला सदस्य भएका उनी आसन्न असोज ९ गते हुने गाउँपालिका स्तरीय निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको सभापति पदमा उम्मेदवारी दिने तयारीमा छन् ।

समाज रुपान्तरणका लागि समाजमा भएका विसंगती, विकृति विरुद्ध आवाज उठाउने, आफू जन्मिएको, हुर्किएको गाउँलाई नै समृद्ध बनाई युवा प्रोत्साहन मुलक कार्य पनि गरे। यतिमात्र हैन महिलाहरुलाई पुरुष सरह नै अगाडि बढाउनु पर्छ भन्ने हिसाबले महिला सशक्तिकरणका कामहरु सक्रिय रुपमा गरिरहे जसका कारण दाहाल सबैको विश्वासको पात्र बने ।

समाजमा भएका असहजिला पाटाहरुलाई सहजीकरण गर्दै सिगों गाउँलाई नै विकासतर्फ उन्मुख गराउन महत्पूर्ण भूमिका समेत निर्वाह गरे । यसर्थ राजनीतिक क्रियाकलापमा मात्र सक्रिय हैन उनी सामाजिक गतिविधिहरुमा समेत क्रियाशील छन् । राजनीतिसंगै सामाजिक सेवाका काममासमेत उनको उपस्थिति बलियो देखिन्छ । एैतिहासीक रुपमा परिचित मकवानपुरगढी जैविक, धार्मिक, पुरातात्विक रुपमा भरिपूर्ण त छंदै छ , यसलाई अझै समृद्ध बनाउने योजना रहेको साथै आफ्नो उपस्थितिलाई स्थानीय क्षेत्रमा बलियो बनाउन र स्थानीय जनताकै सेवामा आफुलाई समर्पित गराउने उद्देश्य सहित उम्मेदवारी घोषणा गरेको दाहालले हेटौँडा टुडेलाई बताए ।

अब हुने अधिवेशनबाट उनी सभापति भए भने अझै राम्रा काम गर्ने, अग्रजको सम्मान, नयाँलाई उत्साह, क्रियाशीललाई भविष्य सुनिश्चितताको लागि पहल गर्दै आवाज विहिनहरुको आवाज भएर काम गर्ने उनको योजना रहेको दाहालको भनाई छ । सबैको साथ र सहयोग पाए भने दाहाल सभापति पदमा निर्वाचित हुनेछन । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिमा एक कार्यकाल उपाध्यक्ष र  ३ कार्यकाल अध्यक्ष भएर उनले काम गरेका छन् । हाल उनी मनकामना दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्ष पनि हुन्  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*