हेटौंडा । बागमती प्रदेश सांसद तथा नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष प्रेमबहादुर पुलामी (छिन्तु) ले माओवादी केन्द्रले एमसीसी पास हुन नदिने बताएका छन् । अहिलेकै अवस्थामा राष्ट्रघात हुनेगरी एमसीसी पास हुन नदिइएने उनले बताए ।
नेकपा माओवादी केन्द्र हेटौंडा – १० नम्बर वडाकमिटिको भेलालाई शनिबार सम्मबोधन गर्दै उनले सो कुरा बताएका हुन् । जनताले यसअघि गरेका विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै संस्थागत गर्न सिङ्गो पार्टी संगठन लाग्नुपर्ने उनले कार्यकर्तामाझ बताए । यसअघि पटकपटक प्रतिनिनधीसभा विघटन गरेर ओलीले देशको नेतृत्व गर्ने हैसियत गुमाइसकेको केन्द्र मकवानपुरका अध्यक्ष पुलामीले उल्लेख गरेका छन् ।
भेलालाई सम्बोधन गर्दै उक्त पार्टीका प्रचार प्रसार विभाग प्रमुख कमान सिं पाख्रिन (पृथक) ले देशमा व्यवस्था बदलिएपनि जनताको अवस्था नफेरिएकाले अब जनताको अवस्था परिवर्तनमा पार्टी पङ्ती लाग्नुपर्ने बताएका छन् ।
अझैपनि व्यवस्थाप्रति अनेकन खतरा रहेको औंल्याउँदै उनले व्यवस्थाको रक्षा गर्दै जनताको जीवनस्तर माथि उकास्न पार्टी अभियानसहित लाग्नुपर्नेमा जोड दिए ।
अधिवेशनले सन्तोष न्यौपाने अध्यक्ष रहने गरि ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा गणेश घलान, सचिवमा माधव सुवेदी, सह –सचिवमा प्रकाश ढकाल, कोषाध्यक्षमा गीता देवी यादव लगायत रहेका छन् ।
यसैगरी कार्यक्रममा विमल राईको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी ३३ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्
हेटौंडा उपमहानगरपालिका कमिटी सचिवालय सदस्य तथा–१० नम्बर वडा कमिटी इन्चार्ज ज्ञानेन्द्र कार्कीको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका सदस्यहरु लिलाकुमार घलान, कृष्ण सुवेदी, आत्मराम मोक्तान, बौद्धिक मञ्चका अध्यक्ष डा. विमल केसरी, होटल एसोसिएसन मकवानपुर अध्यक्ष शंकर लाल श्रेष्ठसहितले शुभकामना मन्तव्य राखेका थिए ।






















