हेटौँडा/ बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ भोलहीमा गएराति ट्यांकरको ठक्करबाट कारमा सवार तीन जनाको मृत्यु भएको छ । कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने क्रममा र कार सवार दुई जनाको भने विरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये कारमा सवार अन्दाजी २५ वर्षीय सरज प्रसाद र २७ वर्षीय कृत सिंहको उमेर र नाम मात्र खुलेको छ । उनीहरुको ठेगाना खुल्न बाँकी रहेको छ । पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङ्करले विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई गएराती पौने ११ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार रहेका ट्याङ्कर चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।
यसैबीच, बाराको निजगढ नगरपालिका ११ मा शुक्रबार साँझ मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ । दुई जना भने घाइते भएका छन् । साँझ ६ बजे तीन जना सवार रहेको प्रदेश २–०३–०१४ प ४५५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रहेको रुखमा ठोकिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका २७ का २४ वर्षीय सोवितलाल यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडी सवार दुई जनाको उपचार भने निजगढ स्थित नेशनल मेडिकल कलेजमा भइरहेको छ ।