मुख्यमन्त्री शाक्यले भोलि विश्वासको मत लिदैँ

हेटौंडा टुडे
३ कार्तिक २०७८, बुधबार ११:३९

हेटौँडा/ बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ता पेस गरेकी थिइन् । उक्त प्रस्तावमाथि भोलि बस्ने बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रकृया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रमुख सचिव खड्का अनुसार, भोलिको बैठकमा हुने विश्वासको मतको लागि सत्तापक्ष र प्रतिपक्षहरुको लागि मतदान कार्यको निमित छुट्टाछुट्टै कोठाको व्यवस्था गरिएको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ ।

नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । त्यस्तै, प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्र, २२ जना नेपाली कांग्रेस, ३ जना विवेकशील साझा, २ जना नेमकिपा, २ जना राप्रपा र १ जना जसपाका सांसदहरु रहेका छन् ।

मुख्यमन्त्री शाक्यले भोलि अर्थात कात्तिक ४ गते बिहिबार अपराह्न बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*