हेटौँडा/ बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन दिन देखिको अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको विवरण संकलन गर्ने काम सुरु गरेको छ ।
मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेको अध्यक्षतामा बसेको बैठकले धानबालीमा भएको क्षतिको विवरण संकलन गर्नका लागि ¥यापिड रेस्पन्स टिम गठन गरेलगतै प्रदेशका बिभीन्न जिल्लामा क्षतिको विवरण संकलन गर्ने काम सुरु गरेको हो । प्रदेशमा रहेका १ सय १९ वटै स्थानीय तह र कृषि ज्ञान केन्द्र मार्फत विवरण संकलन गर्नेकाम सुरु गरिएको सचिब पाण्डेले जानकारी दिनुभयो ।
पानी परेका कारण किसानले काटेको धान खेतमा खेर गएमा राहत समेत दिने भएको छ । किसानका लागि प्रदेश सरकार भएको अनुभुति गराउन पनि तत्काल विवरण संकलन गरेर राहत दिने व्यवस्था गर्न लागिएको वताउँदै मन्त्रालयका सचिब पाण्डे भन्नुहुन्छ–‘धेरै खालका बालीमा भएको नोक्सानीमा क्षतिपूर्ति दिनका लागि मन्त्रालयले एक करोड रुपैयाँ छुट्याएका छौं । धानमा भएको क्षतिको विवरण संकलन गरेपछी त्यही रकमबाट किसानलाई राहत उपलब्ध गराउने छौं ।’
क्षतिको विवरण संकलन गर्नका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेशको सम्पूर्ण कृषकहरुमा क्षतिको विवरण टिपाउनका लागि अनुरोध समेत गरेको छ । भारी वर्षा र हुरीका कारण धान बालीमा पुगेको यकिन विवरण आइनसकेको बागमती प्रदेशको कृषि विकास निर्देशनालयले सबै ज्ञान केन्द्रहरुलाई विवरण संकलन गर्नका लागि पत्रसमेत पठाइसकेको छ । पानीले धान बालीमा परेको असर पहिल्याउन ‘¥यापिड टास्कफोर्स’ गठन गरेको कृषि विकास निर्देशनालय, बागमतीका प्रमुख रबिन्द्रबहादुर प्रधानले बताउनुभयो । नजिकैको स्थानीय तह वा ज्ञान केन्द्रमा आफ्नो क्षतिको विवरण पठाउन किसानलाई आग्रह गरिएको प्रधानले बताउनुभयो ।
चितवन, काभ्रे, मकवानपुर, धादिङ, काभ्रेपलान्चोक, सिन्धुली लगायतका ठाउँहरुमा धान बालीलाई हावा र पानीले ढालेको विवरण अपुष्ट रुपमा प्राप्त भएको उहाँको भनाइ छ । प्रदेशभर ठूलो डुबानको अवस्था नहुने भएकाले पानी पर्न कम भए खासै ठूलो असर देखिने अवस्था नरहेको उहाँले बताउनुभयो ।
बिगत केहि दिनदेखिको बेमौसमी रुपमा परेको अविरल वर्षाको कारणले गर्दा बागमती प्रदेशका जिल्लाहरुमा कृषकहरुले लगाएको बालीहरुमा क्षति पुग्न गएको भन्ने विवरण प्राप्त भएको प्रति मन्त्रालयको ध्यान आकृष्ट भएको मन्त्रालयका प्रवक्ता राजन ढकालले वताउनुभयो । यस परिस्थितिले गर्दा अप्रत्यासित रुपमा बालीमा भएको नोक्सानीबाट कृषकहरुले व्यहोर्नु परेको आर्थिक क्षति प्रति मन्त्रालय थप चिन्तित बनेको उहाँले वताउनुभयो ।
यसै विषयलाई मध्यनजर गर्दै मन्त्रालयले कृषि क्षेत्रमा परेको असरलाई नजिकवाट नियाल्दै वर्षाको कारणवाट कृषकहरुले आफ्नो बालीमा व्यहोरेको क्षतिको विवरण संकलन गर्ने कार्य तिव्रताका साथ अगाडी बढाईएकोले क्षतिको यथार्थ विवरण एकिन गरी सम्वन्धित कृषि ज्ञान केन्द्र वा मन्त्रालयमा विवरण टिपाउन समेत आग्रह गरिएको उहाँले वताउनुभयो ।
प्राकृतिक प्रकोप एवम् अन्य जुनसुकै कारणवाट कृषहरुमा पर्न जाने कठिनाईमा मन्त्रालय सदैव कृषकहरुको साथमा रहने मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले वताउनुभयो । अब तत्काल क्षति आँकलन पश्चात बालीमा भएको असर एवम् प्रभावको आधारमा प्रभावित कृषकहरुको लागि नीतिगत रुपमा सम्वोधन गर्दै जाने कार्यमा मन्त्रालय प्रतिवद्ध रहेको अधिकारीले जानकारी दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागको सूचना अनुसार साताको अझै केही दिन सम्म मौसममा प्रतिकुलता रहन सक्ने हुँदा खेतमा रहेको धान बाली कटानी गर्नुपुर्व थप सावधानी अपनाउनुहुन समेत मन्त्रालयले अनुरोध गरेको छ । यस विषम परिस्थितिले गर्दा उत्पन्न भएको समस्यावाट कत्ति पनि विचलित नभई धैर्यता एवम् आवश्यक सजगताका साथ आफ्ना कृषि कर्महरु निरन्तर रुपमा अगाडी बढाउन समग्र कृषक वर्गहरुमा मन्त्रालय अनुरोध गरेको उहाँले वताउनुभयो ।
भित्र्याउने बेला भएको धान पानी र हुरीको चपेटामा परेपछि आगामी वर्ष उन्नत बिउ उत्पादनमा संकट आउन सक्ने आंकलन विज्ञहरुको छ । वरिष्ठ कृषि अर्थविज्ञ डा. महादेवप्रसाद पौडेलका अनुसार सामान्य पानीले धान डुब्यो भने चामलको स्वाद हराउने र चामल पहेँलो हुन्छ । ‘एक दुई दिन मात्रै डुबे चामल प्रयोगका लागि ठीकै हुन्छ, तर ५/६ दिन भिज्यो भने धान कुहिन्छ र उम्रिन थाल्छ,’ पौडेलले भन्नुभयो ।
पाकेपछि पानीमा भिजेको धानको बिउ उन्नत नहुने उहाँले वताउनुभयो । ‘देशैभरको धान बिग्रिने भो, कतै यस्तै धानबाट बिउ बनाइउयो भने अर्को वर्ष झन दानै नलाग्ने हुनसक्छ,’ पौडेलले भन्नुभयो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का धानबाली विज्ञ डा. सुशील सुवेदी धान भित्र्याउने बेला देखिएको पानीको असर मुलुकको आर्थिक वृद्धिमै पर्ने बताउँनुहुन्छ । गत वर्षको आँकडाअनुसार कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.८३ छ, जसमा माछा र वनजंगलको भन्दापनि धानको योगदान धेरै छ । डाक्टर सुवेदीका अनुसार पानीका कारण पाकेको बालीमा परेको डुबान यस कारण पनि मुलुकका लागि खतरा छ ।
‘नकाटेको धानमा त धेरै क्षति नपर्ला, तर काटेर सुकाएको धान बगाउनु र डुबाउनु ठूलो समस्या हो । यसले धान उत्पादन घट्छ, र समग्र अर्थतन्त्रमा असर पार्छ’ सुवेदीले भन्नुभयो । वर्षातका कारण पूर्वभन्दा पश्चि मनेपाल धेरै प्रभावित भएको र फूल फुल्न थालेको धान उच्च जोखिममा रहेको उहाँले वताउनुभयो । बिउ काट्ने बेलामा धान पानीमा भिजेपछि धान परिपक्क हुनै नपाउने र अब बनाउने बिउको उम्रिने शक्ति पनि घटने उनको आँकलन छ ।
कृषि अनुसन्धान परिषद् नार्कले अब केही दिन पानी परिरहने भएकाले सकेसम्म सग्लो रहेको धान नकाट्न किसानलाई अनुरोध गरेको छ । ‘सकेसम्म धान नकाट्ने, काट्नबाट रोक्ने नसक्ने अवस्था आए सुकाउने प्रबन्ध गर्न अनुरोध गर्दछु,’ नार्कका सूचना अधिकारी डा. बालकृष्ण जोशीले भन्नुभयो । भिजेको धान पनि पंखा र कुनै माध्यमबाट सुकाउन सकिन्छ भने त्यसो गर्न पनि उनले किसानहरुलाई सुझाव दिनु भएको छ ।