हेटौँडा/ बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भोलि अर्थात कात्तिक १० गते विश्वासको मत लिने भएको छ । मुुख्यमन्त्री शाक्यले भोलि अपराह्न बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएको बागमती प्रदेशसभा सचिवलायले जनाएको छ । त्यसको लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उनका अनुसार, उक्त कार्यको लागि सत्तापक्ष र प्रतिपक्षहरुलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ । साथै सो कार्यको लागि अधिकृतसहितको आवश्यक कर्मचारीसमेत खटाइएको सचिव खड्काले बताए । मुख्यमन्त्री शाक्यले विश्वास गत असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव कात्तिक ४ गते बसेको बैठकमा टेबुल गरेकी थिइन् । मुख्यमन्त्री शाक्यले उक्त प्रस्ताव टेबुल गरेपछि दलगत रुपमा प्रदेशसभाका सदस्यहरुले आ–अफ्नो धारणा व्यक्त गरेका थिए ।
बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् । यसैगरी, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३, अर्को प्रतिपक्ष नेपाली कांग्रेसको २२, नेकपा एकीकृत समाजवादी पार्टीका १३, विवेकशील साझा दलको ३, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का २ जना, राप्रपाका २ र जनता समाजवादी पार्टी (जसपा) को १ जना प्रदेशसभा सदस्यहरु रहेका छन् ।