ग्यास महंगिँदा बिजुली सस्तियो, अब खाना पकाउँदा इन्डक्सन चुलो प्रयोग गरे सस्तो पर्ने

टुडे संवादाता
१४ कार्तिक २०७८, आईतवार १७:१५

दुई दिनअघि नेपाल आयल निगमले खाना पकाउने ग्यासलगायत सबै इन्धनको मूल्य बढाएको छ । निगमले मूल्य बढाएर बेच्दा पनि अझै आफूलाई अर्बौंको नोक्सानी भइरहेको दाबी गरेको छ । यसअघि छोटोछोटो समयमा इन्धनको भाउ बढाउँदै आएको निगमको दाबीले फेरि पनि भाउ बढ्ने निश्चित गरेको छ ।

आयल निमगले इन्धनको भाउ बढाउनु केही दिन अघि विद्युत् नियमन आयोगले बिजुलीको महसुल घटाएर नयाँ दर सार्वजनिक गरेको छ । नयाँ दर मंसिर १ गतेबाट लागू हुनेछ ।

बिजुलीको नयाँ दरअनुसार अब नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन सहज हुने भएको छ । विद्युत अभाव र महँगो महसुल रहेको अवस्थामा हालै माथिल्लो तामाकोसीलगायतका आयोजना नेपाल विद्युत प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ ।

अब मागअनुसार बिजुली उपलब्ध हुने अवस्था सिर्जना भएको छ । प्रणालीमा झन्डै दुई हजार मेगावाट बिजुली उपलब्ध भएका सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले विदेशी ग्यास छाड्ने र स्वदेशी बिजुली उपभोग गर्ने योजना अगाडि सारेकी छन् । नेपाल आयल निगमको विवरण अनुसार झण्डै रु ४० अर्ब बराबरको खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ ।

आयल निगमले निरन्तर घाटा बढेको भन्दै शुक्रबारदेखि लागू हुनेगरी एलपी ग्यासको मूल्य वृद्धि गरेर प्रतिसिलिन्डर एक हजार ५०० रुपैयाँ पुर्‍याएको छ । अझै पनि ग्यासमा प्रतिसिलिन्डर ४६१ रुपैयाँ २२ पैसा घाटा रहेको निगमका सहायक प्रवक्ता पुष्कर कार्कीको भनाइ छ । यही विषम अवस्थालाई ध्यान दिएर सरकारले खान पकाउनका लागि विद्युतीय चुलोमा बढावा दिन यस पटक बिजुलीको महसुलमा रणनीतिक परिवर्तन गरेको छ ।

विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार सरकारको नीति तथा कार्यक्रम र योजनाअनुसार नै आयोगले विद्युतीय चुलोको प्रयोग बढोस् भन्ने ध्येयका साथ महसुलमा छुट दिइएको हो । सरकारले विद्युतीय चुलो प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यअनुसार मासिक १०० युनिटभन्दा बढी बिजुली खपत गर्ने परिवारलाई बिजुलीको भाउ सस्तो पर्ने गरी दर निर्धारण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*