हेटौंडा–१२ रमनटारमा पुलको मुखैमा खाल्डो, दुर्घटनाको उच्च जोखिम

हेटौंडा टुडे
२८ कार्तिक २०७८, आईतवार ०९:१०

हेटौँडा/ हेटौंडा–१९ तीनताप्के र हेटौंडा–१२ रमनटार जोड्ने नयाँ पक्की पुलको मुखै खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको छ । पुलको रमनटारपट्टीको भागमा ठूलो खाल्डो परेको छ भने पुलसंग जोडिएको बाटो समेत भासिएको छ ।

यसतर्फ जनप्रतिनिधि तथा पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले कुनै वास्ता नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । हेटौंडा–१२ का युवा नेता कुमार पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा पुल र खाल्डोको अवस्थाको फोटो राख्दै ‘पुलसँगैको बाटोको अवस्था यस्तो रहँदासम्म पनि सम्बन्धित निकायको नजर कहिल्यै पुगेन’ लेखेका छन् ।

पुर्न मिल्ने स–साना खाल्डोलाई स्थानीयले पुरेका छन् । पुलको दुवैतर्फ पिच वा स्ल्याब नगरुन्जेल यस्तो समस्या आइरहने स्थानीयले जानकारी दिएका छन् । पुल निर्माण गरेको ठेकेदार कम्पनी अमर–कुमार–आशिष जेभीको लापरबाहीका कारण स्थानीयले सास्ती भोग्नुपरेको उनीहरुको आरोप छ ।

पदमपोखरीबासीको सहजताको लागि रमनटार र तीनताप्के जोड्ने गरी पक्की पुल निर्माण भएको करिब दुई बर्ष भएको छ । पुल बनेपनि बाटोको समस्याले भने स्थानीय पीडित बनेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*