मकवानपुरको ४ क्षेत्रमा कांग्रेसको प्रदेशसभा अधिवेशन हुँदै

टुडे संवादाता
२०७८ मंसिर ३, शुक्रबार ११:४३ गते

हेटौंडा/नेपाली कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज प्रदेशसभा अधिवेशन हुँदैछ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (क) र (ख) तथा प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) र (ख) मा पनि आज अधिवेशन हुने कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिएका छन् ।

मकवानपुरको सबै क्षेत्रमा सकेसम्म सहमतिबाटै नेतृत्व चयनको प्रयास हुने र सहमति जुट्न नसकेको अवस्थामा निर्वाचन हुने प्रवक्ता कोइरालाले बताए । उनले भने ‘ हामी सकेसम्म सहमति जुटाउने प्रयास गर्दैछौँ, यदि सहमति जुट्न नसकेमा कांग्रेस लोकतन्त्रको पक्षधर हो, त्यसकारण लोकतान्त्रिक विधि अपनाउछौँ । निर्वाचन हुन्छ, लोकप्रिय व्यक्ति चुनिनेछन् ।’

प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (क) को निर्वाचन हटिया चिसापानीमा, प्रदेशसभा (ख) को हेटौंडाको जयगणेश पार्टीप्यालेशमा अधिवेशन हुँदैछ । प्रदेशसभा (क) मा सुशान्त कुमार श्रेष्ठ सभापति पदमा सर्वसम्मत हुने संभावना देखिएको छ । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (क) को अधिवेशन थाहा नगरपालिकाको पालुङ्स्थित जेसीज भवन हुँदैछ भने प्रदेशसभा (ख) को अधिवेशन बसामाडी जेसीजको भवनमा हुँदैछ ।

अधिवेशनले ४ वटै निर्वाचन क्षेत्रबाट सभापति १, उपसभापति २, सचिव २ र सहसचिव २ जना चयन गर्नेछ । त्यस्तै खुल्ला, महिला, समावेशी, दलित आदीवासीसमेतबाट जम्मा १८ जना सदस्य चयन हुनेछन् । निर्वाचित सदस्यबाट कार्यसमितिले कोषाध्यक्ष मनोनय गर्ने जनाइएको छ । सबै क्षेत्रमा मतदान अधिकृत पुगिसकेको र साँझ ४ बजेसम्ममा अधिवेशन सम्पन्न भइसक्ने समेत प्रवक्ता कोइरालाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*