हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिका उम्मेदवार इन्द्रबहादुर बानियाँलाई अर्का उम्मेदवार भीमसेन दास प्रधानले समर्थन गरेका छन् । पहिलो चरणको निर्वाचनमा तेस्रो भएका प्रधानले दोस्रो चरणको निर्वाचनमा बानियाँलाई समर्थनको घोषणा गरेका हुन् ।
हेटौंडाको बालकुमारी पार्टी प्यालेसमा आइतबार भएको पत्रकार सम्मेलनमा प्रधानले प्राकृतिक न्यायको सिद्धान्त अनुसार आफुले बानियाँलाई समर्थन गरेको बताए । उनले पहिलो चरणको निर्वाचनका क्रममा प्रतिनिधिले सबैभन्दा बढि मत बानियाँलाई दिएकाले उनलाई समर्थन गर्नु प्राकृतिक न्यायको सिद्धान्त अन्तरगत पर्ने बताए । उनले बानियाँलाई मतदाताले रुचाईसकेकाले सबैलाई दोस्रो चरणमा उनलाई नै विजयी गराउने विश्वास समेत व्यक्त गरे । उनले आफु सधैं सहमति सहकार्य र एकताको पक्षमा रहेको समेत बताए ।
कार्यक्रममा सभापतिमा सर्वाधिक मत ल्याएका बानियाँले आफुले प्रधानको लामो राजनैतिक अनुभवलाई सदुपयोग दृढताका साथ कांग्रेसको संगठन सृदृढिकरण अभियानमा लाग्ने बताए । उनले आफु र प्रधान यसपछिका अभियानमा पनि सहकार्य गर्दै जनजन र मनमनमा कांग्रेसलाई पुर्याउन लागि पर्ने बताए ।
पत्रकार सम्मेलनमा सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना लगायतका प्रदेश र जिल्लास्तरका नेताहरुको उपस्थिति रहेको थियो ।





















