हेटौंडा/ नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन सुरु हुन अब तिन दिन मात्रै बाँकी छ । मंसिर २४ गते काठमाडौंको भृकुटी मण्डपमा पार्टीको १४ औं महाधिवेसनको भव्य उद्घाटन हुँदैछ ।
त्यसपछि २५ गते उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने २६ गते नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । यसपटक नेतृत्वका आकांक्षी बढी हुँदा उम्मेदवारी टुंग्याउन तथा प्यानल बनाउन सकस भएको छ । कांग्रेसको संस्थापन इतर समुहले सभापतिको साझा उम्मेदवार टुंग्याउन सकेको छैन ।
वरिष्ठ नेता रमाचन्द्र पौडेलको निवासमा हिजो बसेको यो समुहको बैठक निष्कर्षमा पुग्न सकेन । संस्थापन इतर समुहबाट रामचन्द्र पौडेल, शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका मुख्य दावेदार हुनुहुन्छ । साझा उम्मेदवार तय हुँदा आफु पछि हट्न सशांक कोइराला भने तयार देखिनुभएको छ ।
सभापतिको उम्मेदवार टुंग्याउन यो समुहको बैठक आज पनि बस्दैछ । आज दिउसो प्रकाशमान सिंहको निवासमा आफु निकट केन्द्रिय सदस्यहरुसँग छलफल गरेपछि सभापतिको उम्मेदवार चयन गर्ने यो समुहको तयारी छ । यो समूहबाट महामन्त्रीमा भने गगन थापाको नाम सर्वसम्मत जस्तै देखिएको छ ।
उता, पदाधिकारीका आकांक्षीहरुको व्यवस्थापन गर्न संस्थापन समूहमा पनि चुनौती देखिएको छ । पार्टी सभापति शेर बहादुर देउवा पूर्व महामन्त्री कृष्ण सिटौलालाई मनाएर गठबन्धन बनाउने प्रयासमा हुनुहुन्छ ।
देउवा सिटौला गठबन्धनले जिल्ला तथा प्रदेश अधिवेशनमा सफलता हात पारेकोले केन्द्रमा पनि यही गठबन्धनलाई निरन्त्रता दिने देउवाको दाउ छ । बिमलेन्द्र निधीले साथ छोडेपछि आफ्नो समूहलाई लागेको घाटा सिटौला थपिंदा मेटिने देउवाको विष्लेषण छ । देउवालाई सिटौला सँगसँगै बिजय कुमार गच्छेदार, गोपालमान श्रेष्ठ लगायतका नेताहरुलाई पनि मनाउनुपर्ने बाध्यता छ ।