हेटौँडा/ संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोना संक्रमण न्यूनीकरण, रोकथाम एवं उपचारमा बागमती प्रदेशको तयारीबारे अन्तर्क्रिया गरेका छन् ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप अभियान द्रुत कार्य संचालन टोलीको नेतृत्व गर्दै हेटौंडा आइपुगेका मन्त्री खतिवडाले बागमती प्रदेशको तयारी र गरिरहेको कामबारे अन्तरक्रिया गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले कोरोनाको जोखिम न्यूनीकरणका लागि खोप अभियानलाई सबै क्षेत्रमा पुर्याउन तालिका बनाएर खोप अभियान संचालन गर्नुपर्नेमा जोड दिए । उनले खोपको पर्याप्तता रहेकाले सबैलाई दुई डोज खोप दिई लक्षित वर्गमा बुस्टर डोजलाई पनि अघि बढाउन निर्देशन दिए । उनले सम्भावित जोखिमबारे ध्यान दिनुपर्ने बताउँदै विगतको जस्तो जनजीवन ठप्प हुने गरि लकडाउन गर्न नहुने धारणा राखे ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र पाण्डेले कोरोनाविरूद्धको अभियानका लागि बजेट अभाव नहुने बताए । खोप अभियानमा सबैको सहयोगमा सफलता हासिल हुनेमा उनको विश्वास थियो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री बागमती प्रदेशमा कोरोनाविरूद्धको अभियालाई प्रभावकारी बनाउन प्रदेशस्तरको कोभिड-१९ व्यवस्थापन निर्देशक समितिले व्यवस्थित ढंगले काम गरिरहेको बताए ।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बागमती प्रदेशमा भइरहेका कामबारे प्रस्तुतिकरण गरेका छन् ।
आन्तरिक मामिला तथा योजना मन्त्री कृष्ण खनाल, सामाजिक विकास मन्त्री कुमारी मोक्तानको उपस्थिति रहेको कार्यक्रममा सुरक्षा निकाय र प्रदेश मन्त्रालयका सचिव, संघीय स्वास्थ्य मन्त्रालयकी प्रवक्ता, मकवानपुरका प्रमुख जिल्ला अधिकारी लगायतले कोभिडविरूद्ध गरेका काम र तयारीबारे अवगत गराएका थिए । प्रस्ट खबरबाट






















