हेटौंडा । बिन्दाबासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ हेटौंडाले वार्षिकोत्सवमा अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।रेडियोले स्थापनाको १४ वर्ष पुरा गरि १५ औ वर्षमा प्रवेश गरेको अवसरमा आईतबारबाट सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन सोमबार आयोजित बृहत रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका हुन् । कार्यक्रमको तेस्रो दिन मंगलबार रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गर्नेछ ।
रेडियोको स्टेसन म्यानेजर मणिराज गौतमको अनुसार सप्ताहव्यापी कार्यक्रमको चौथो दिन फागुन ४ गते दुध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया हुनेछ । कार्यक्रममा प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाँई ,मन्त्रालयको सचिव,किसान तथा अन्य सरोकारवालाहरुको उपस्थिती रहनेछ । ५ गते सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कस्को भन्ने विषयमा मावी स्तरीय वक्तृत्वकला कार्यक्रम हुने गौतमले बताए ।
त्यस्तैगरि ६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरिक्रिया हुनेछ भने अन्तिम दिन ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह एवम् साहित्य सम्मेलन हुने गौत्तमको भनाई छ । कार्यक्रमको पहिलो दिन आईतबार पर्यावरण प्रवद्र्वनको लागि रेडियोले साइकल र्याली गरेको थियो ।