हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा बुद्ध लामा निर्वाचित भएका छन् । कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन अन्तर्गत फागुन १६ गते सोमबार सम्पन्न मतदान प्रक्रियामा १ हजार ७ सय पचहत्तर मत खसेको थियो । जसमध्ये सभापतिका उम्मेदवारहरु लामाले ५ सय पन्चानब्बे, आनन्दराम पराजुलीले ५ सय पैतालीस र जयराम लामिछानेले ५ सय एकतीस मत प्राप्त गरेका थिए ।
सभापतिका ३ जना उम्मेदवारहरुले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा निर्वाचन दोस्रो चरणमा हुने भनिएको थियो । तर अधिवेशन अघि नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, प्रदेश सभापति इन्द्रबहादुर बानियाँको उपस्थितिमा सभापतिका उम्मेदवारद्वय लामा र पराजुलीमध्य पहिलो चरणमा बढि मत ल्याउनेलाई दोस्रोले सहमतिमा नेतृत्व दिने कुरो भएको थियो । सहमति भए बमोजिम लामालाई सभापतिमा निर्विरोध चयन गरिएको हो । करिब ३ दशकपछि कांग्रेस मकवानपुरले तामाङ समुदायबाट सभापतिमा नेतृत्व पाएको छ ।
कांग्रेस मकवानपुरमा सूर्यबहादुर डिम्डुङले २०४६ सालमा पार्टीको नेतृत्व गरेपछि पहिलो पटक तामाङ समुदायबाट लामाले नेतृत्व गर्ने अवसर पाएका छन् । सभापतिमा चयन भएका लामालाई जिल्ला निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीले प्रमाणपत्र प्रदान गरेका छन् । त्यस्तै सभापतिका दुबै प्रत्यासी लामिछाने र पराजुलीले पार्टी निर्माणमा आफूहरुले सदैव सभापति लामालाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा कांग्रेस मकवानपुरका नेताहरु, कार्यकर्ताहरुलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।





















