हेटौँडा/ यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि आज पनि उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन गर्न हिजो र आजका लागि समय दिएको छ ।
पहिलो दिन हिजो देशभरका विभिन्न जिल्लामा स्थानीय तहको विभिन्न पदका लागि १० हजार ५ सय ३३ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । हिजो उम्मेदवारी दर्ता गराउने मध्ये अधिकांश स्वतन्त्र र साना दलका उम्मेदवारहरू छन् ।
ठूला दलहरूबीचको तालमेल र गठबन्धनका कारण हिजो थोरै उम्मेदवारी दर्ता भएको अनुमान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आज नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजदावी पार्टी, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका उम्मेदवारले मनोनयन दर्ता गराउने छन् ।
मनोनयनको समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको लागि तोकिएको छ । आयोगका प्रवक्ता पौडेलका अनुसार आज मनोनयन सकिएपछि भोलि उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ मा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने छ ।
वैशाख १५ मा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने भोलिपल्ट उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । वैशाख १७ मा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।