मकवानपुरगढी गाउँपालीका : को हुन उपाध्यक्ष पदकी उम्मेदवार मानकुमारी पाख्रिन ( नेपाली )

हेटौंडा टुडे
२०७९ बैशाख २०, मंगलवार २२:३६ गते

हेटौंडा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मकवानपुरगढी गाउँ पालिकाको उपाध्यक्षमा नेकपा माओबादी केन्द्रको तर्फबाट मानकुमारी पाख्रिन नेपाली (आशा) को उम्मेदवारी रहेको छ । उहाँ सत्ता गठबन्धनबाट उपाध्यक्ष पदको साझा उम्मेदवार बन्नु भएको हो । मानकुमारी पाख्रिन नेपाली (आशा) को जन्म विस २०४० साल आसर २९ गते मकवानपुरको हटियामा भएको हो । उहाँले विस २०५६ सालदेखि तत्कालिन नेकपा माओवादीको विद्यार्थी संगठनको सचिव हुँदै राजनीतिक यात्रासुरु गर्नुभयो ।

विद्यार्थी संगठनमा सक्रिय भएर कक्षा १० मा अध्ययनरत् अवस्थामै मानकु मारीलाई विस २०५७ भदौमा तत्कालिन शाही सेनाले पक्राउ ग¥र्यो । त्यस समय उहाँले ४ महिना जेल जीवन बिताउनुभयो । विस २०५८ मंसीर देखि देशमा संकटकाल लागु भयो । त्यसपछि उहाँ भुमिगत हुनुभयो । भुमिगत भएसँगै उहाँ पूर्ण रुपमा माओवादी पार्टीमा खटिनु भयो ।

मुलुकको परिवर्तनका लागि कक्षा १० मा अध्ययन गर्दै गर्दा भुमिगत हुनु भएकी मानकुमारीले एस एल सी सम्मको अध्ययन गर्नुभएको छ । उहाँले भुगोल अन्तरगत मकवानपुर र धादिङ जिल्लामा पार्टीले दिएको जिम्मेवारीमा रहेर काम गर्नुभयो । विस २०५९ मा माओवादीले जनतालाई जागरुक गराउन भुमिगत रुपमै संचालन गरेको रेडियो जनगणतन्त्रमा कार्यक्रम प्रस्तोता र प्राविधिकको रुपमा पनि उहाँले काम गर्नुभयो । उहाँ २०५९ सालमा नेकपा माआवोदीको मकवानपुर जिल्लाको सदस्य बन्नु भयो ।

विस २०६४ सालमा तत्कालिन मकवानपुरगढी गाविसका भीम पाख्रिनसँग उहाँको जनवादी विवाह भयो । दुवै जना माओवादी जनयुद्धमा होमिनु भएको थियो । उहाँका श्रीमान् पाख्रिन अहिले नेकपा माओवादी केन्द्रको मकवानपुर सचिव हुनुहुन्छ । उहाँका एक छोरी र एक छोरा छन् । निरन्तर राजनीतिमा सक्रिय मानकुमारी विस २०६४ मा हेटौडा नगर सेक्रेटरी र क्षेत्रीय ब्यूरो सदस्य बन्नु भयो । विसं २०७४ को प्रदेश र संघीय निर्वाचनमा बागमती प्रदेशबाट दलितको तर्फबाट समानुपातिकको उम्मेदवार बन्नु भयो । तर दलितको मत प्रतिशत नपुगेका कारण निर्वाचित हुनु भएन् ।

मानकुमारी विस २०७८ को नेकपा माओवादी केन्द्रको केन्द्रीय अविधेशनबाट केन्द्रीय सदस्य चयन हुनु भएको छ । जनयद्धका सहिद रुद्र पाख्रिनको बुहारी मानकुमारी सामाजीक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उहाँ मकवानपुरगढी–३ मा रहेको भानु माविको अध्यक्ष, सहिद रुद्र पाख्रिन स्मृति पार्कको अध्यक्ष, श्रमिक सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको उपाध्यक्ष हुनुहुन्छ । आसन्न स्थानीय तह निर्वाचनमा उहाँ सत्ता गठबन्धनको तर्फबाट मकवानपुरगढी गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*