हेटौँडा । निर्माण व्यवसायीहरुको छाता संगठनले निर्माण व्यवसायीहरुका परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघले कोभिड १९ बाट मृत्युभएका निर्माण व्यवसायीका परिवारलाई सहयोग र दुर्घटनामा परी मृत्युभएका व्यवसायीका परिवारलाई दुर्घटना बीमावापतको रकम मंगलबार निर्माण व्यवसायी संघ मकवानपुरमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरिएको हो ।
कोरोना भाइरस संक्रमणका कारण मृत्युभएका निर्माण व्यवसायी संघ मकवानपुरका सदस्य मकवानपुरको थाहा नगरपालिका २ पालुङका राजु नापितका परिवारलाई नेपाल निर्माण व्यवसायी महासंघले एक लाख ५० हजार रुपियाँ र दुर्घटनामा परी मृत्युभएका संघका सदस्य थाहा नगरपालिका १ का सुन्दर प्रधानका परिवारलाई दुर्घटना बीमावापतको पाँच लाख रुपियाँ हस्तान्तरण गरिएको हो ।
स्वर्गीय राजु नापितका छोरा रविन्द्र नापितलाई सहयोग रकम र स्वर्गीय सुन्दर प्रधानका पत्नी सावित्री प्रधानलाई बीमावापतको रकम संघका अध्यक्ष श्यामसुन्दर ढकाल, निवर्तमान अध्यक्ष आनन्दराम पराजुली, पूर्व अध्यक्ष खड्ग गोपालीलगायतले हस्तान्तण गर्नुभएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुरका प्रथम उपाध्यक्ष बालगोपाल कँडेल, द्वितीय उपाध्यक्ष सागर भट्टराई, तृतीय उपाध्यक्ष बुद्धिराम डिम्डुङ, महासचिव बालकुमार मल्ल, संघका पूर्व सल्लाहकार लवशेर विष्टलगायतको उपस्थिति रहेको थियो ।