मतदातालाई भ्रम सिर्जना हुने गतिविधि

हेटौंडा टुडे
२० कार्तिक २०७९, आईतवार १७:०२

हेटौंडा : मकवानपुरमा निर्वाचनको प्रचारका क्रममा ‘हाम्रो नेपाली पार्टी’ का उम्मेदवारहरूबाट मतदातालाई भ्रम सिर्जना हुने गतिविधि भइरहेको पाइएको छ।

निर्वाचन आयोगमा १८८ नम्बरमा दर्ता रहेको सो पार्टीका उम्मेदवारहरूले आफूहरू राजनीतिक दलको नभई स्वतन्त्र उम्मेदवार रहेको भन्दै मतदातालाई भ्रम सिर्जना हुने गरी प्रचार गरिरहेका छन्।

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर-१ का उम्मेदवार दिपेन्द्रचन्द ठकुरी, सोही क्षेत्रको प्रदेशसभा (क) का उम्मेदवार किशोर राना र प्रदेशसभा (ख) का उम्मेदवार किशोर अर्यालले घरदैलो अभियानदेखि विभिन्न चुनावी कार्यक्रम र सामाजिक सञ्जालहरूमा समेत स्वतन्त्र ‘लौरो अभियान’ का उम्मेदवार हौँ भन्दै प्रचार गरिरहेको पाइएको छ।

दलको उम्मेदवार बनेर किन स्वतन्त्र भनी प्रचारप्रसार गरेको भन्दै निर्वाचन आयोगको केन्द्रीय कार्यालयले शनिबार सो दलका अध्यक्ष अनन्तराज घिमिरेलाई स्पष्टिकरणसमेत सोधेको थियो। आयोगले आचारसंहिता उल्लंघन गरेकाले जरिवाना किन नगर्नुपर्ने भन्दै २४ घण्टे स्पष्टिकरण सोधेको हो।

मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले उम्मेदवारहरूले मतदातालाई उम्मेदवारीको विषयमा स्पष्ट जानकारी गराउनुपर्ने बताए। उम्मेदवारले मतदातालाई भ्रम सिर्जना गर्नु निर्वाचन आचारसंहिता विपरित हुने उनको भनाई छ।

यस विषयमा सो दलका मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-१ प्रदेशसभा (ख) का उम्मेदवार किशोर अर्यालले आफूहरूले प्रचार सामग्री बनाउँदा दलको नाम छुट्न गएको प्रतिक्रिया दिए।

‘हामीले प्रचारप्रसारका लागि थुप्रै सामग्री बनाएका छौँ, कुनै कुनैमा राजनीतिक दलको नाम छुट्न गएको हो। हामी ‘हाम्रो नेपाली पार्टीकै उम्मेदवार हौँ,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*