हेटाैंडा-गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले जनताको मतको अपमान गर्नेलाई बहिष्कार गरेर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।
बिहीबार गठबन्धनको आयोजनामा हेटौंडामा भएको प्रदेशसभा ‘ख’का अगुवा कार्यकर्ता भेलामा उनले ५ बर्षको लागि जनताले दिएको मतको सम्मान गर्न नसक्ने एमालेलाई अब मत दिनुपर्ने कुनै कारण नै नरहेको बताएका हुन् । ‘जनमतको अपमान गर्ने, पटक पटक संसद् विघटन गर्ने, संविधान माथि प्रहार गर्नेलाई होइन अब गठबन्धनलाई मतदान गर्नुहोस् हामी गठबन्धनको मात्र होइन एमालेसहित अन्य दलको समेत साझा भएर काम गर्नेछौं’, पराजुलीले भने, ‘संविधान र मुलुक बचाउँदै देशको विकास र समृद्धिका लागि गठबन्धन भएको छ ।
तानाशाहको विरुद्ध गठबन्धन भएको भन्ने बुझ्न जरुरी छ ।’ सत्तारुढ दलको माहौल देखेर विरोधीहरु सल्बलाइरहेको भन्दै उनले गठबन्धनको बीचमा फाटो ल्याउन अनेक षड्यन्त्र र अन्यौलता पैदा गर्ने काम भैरहेकोले सतर्क रहन आग्रह गरे । ‘जनताको बीचमा जाने कुनै मुद्दा नै नभएपछि अहिले गठबन्धनको बीचमा भ्रम पैदा गर्ने, झुटा कुरा गर्ने काम भैरहेको छ’, पराजुलीले थपे, ‘यी सबै कुरालाई चिर्दै पहिले जनताले गलत ठाउँमा मतदान गरे, अब हामी गठबन्धनको मात्र नभई सबैको साझा भएर काम गर्छौं भन्ने बिषय जनतालाई बुझाउन जरुरी छ ।’
केही उम्मेदवार भोट किन्न भनेर सल्बलाइरहेकोप्रति सचेत गराउँदै उनले त्यस्ताको पछि लाग्न नहुने बताए । ‘अहिले भोट किन्नेले पछि पैसा नलिइ काम गर्दैन भन्ने बुझ्न जरुरी छ । अहिले भोट किन्नेले पछि जनतासंग पैसा नलिइ काम गर्नेवाला छैन’, पराजुलीले भने । कांग्रेसका क्षेत्रीय उपसभापति विनोद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष सूर्यचन्द्र न्यौपाने, माओवादीका समानुपातिक सांसद्का उम्मेदवार भागिरथ नेपाल ‘रामजी’, कांग्रेस नेता प्रदीप कोइराला, माओवादीका उपमहानगर अध्यक्ष तीर्थबहादुर थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।