डोल्पा प्रदेश (क)मा नेकपा एमालेका उम्मेदवार विजयी

हेटौंडा टुडे
२०७९ मंसिर ८, बिहीबार १४:१७ गते

हेटौंडा  |  डोल्पा प्रदेश निर्वाचन क्षेत्र (क) बाट नेकपा एमालेका उम्मेदवार शेरबहादुर बुढा भारी मतले प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।उम्मेदवार शेरबहादुर बुढा चार हजार सात सय ४३ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका प्रत्याशी तथा गठबन्धनतर्फका उम्मेदवार नेपाली कांग्रेसका दीपेन्द्रबहादुर शाहीले दुई हजार चार सय ६५ मत प्राप्त गर्नुभएको छ ।

एमालेका बुढाले शाहीभन्दा दुई हजार दुई सय ७८ मत बढी ल्याउनुभएको हो । प्रदेशसभामा निर्वाचित बुढा नेकपा एमाले डोल्पाका पार्टी अध्यक्षसमेत हुनुहुन्छ । त्यस्तैगरी राप्रपाका उम्मेदवार नारायण बुढाले एक सय २४ मत प्राप्त गर्नुभयो ।

प्रदेश (क) क्षेत्रमा रहेका कुल नौ हजार पाँच सय ६७ मतमध्ये सात हजार पाँच सय १८ मत खसेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश बाबुराम सुवेदीले जानकारी दिनुभयो ।

कुल खसेको मतमध्ये एक सय ६२ मत बदर भएको थियो । प्रदेश सभासदस्यमा निर्वाचित भएपछि बुढाले आफूले पक्ष विपक्ष नभनेर सबैलाई समानरुपमा काम गर्ने बताउनुभयो ।

विगतमा निर्वाचित प्रदेश सभासदस्यले जिल्लामा नबसेर कहिलेकाहीँ पर्यकटको रुपमा जिल्लामा अनुहार देखाउने गरेको उल्लेख गर्दै प्रदेश राजधानी सुर्खेतमा संसद चलेको अवस्थामा बाहेक जिल्लामा बसेर जनताको घरदैलोमा पुगेर समस्या पहिचान गरी समाधान गर्नेसमेत उहाँले बताउनुभयो ।

शिक्षा, स्वास्थ्य र पर्यटकीय सम्पदाको प्रवर्द्धनका साथै विकास आफ्नो प्राथमिकतामा रहने र जनताका हरेक माग सम्बोधन गर्न आफू लागिरहने बुढाको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*