हेटौंडा | जनमत पार्टीले समानुपातिकमा पाएको सिटमा प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको नामावली टुंगो लगाएको छ । काठमाडौंको कोटेश्वर स्थित होटल तपोवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाउँदै तीन वटा विषयमा छलफल गरेको छ ।
केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभामा पाँच जनाको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगमा पेस गरेको सांसदको क्लस्टरमा ४ जना महिला समेटिएका छन् भने एक जना मुस्लिम समुदायका छन् ।
धनुषाबाट अनिता देवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनिता कुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् । २ जना आदिवासी जनजाति, एक मधेसी, एक खस आर्य र एक जना मुस्लिम समुदायको प्रतिनिधित्व रहेको जनमत पार्टीका सचिव संजय कुमार यादवले जानकारी दिए ।
यस्तै केन्द्रीय समिति बैठकले मधेश प्रदेशतर्फ समानुपातिकबाट बाँडफाँड गरी प्राप्त गरेको सिटमा नाम टुंगो लगाएको हो । बैठकले निर्वाचन आयोगले गरेको पत्राचारकै आधारमा कलस्टर छुट्याउँदै सात जनाको नाम टुंगो लगाएको हो ।
मधेशी महिलाबाट वविता राउत, अल्पसंख्यकबाट पार्टीका महासचिव चंदन सिंह, दलितबाट रंजु कुमारी खंग(खत्वे), मधेशी महिलामा अनिता कुमारी साह, मधेशी पुरुषमा पार्टीका उपाध्यक्ष बसन्त कुमार कुशवाहा, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातीमा भाग्यश्री कुमारी चौधरीलाई पठाउने निर्णय गरेको केन्द्रिय सचिव यादवले बताए । यस्तै लुम्बिनी प्रदेशमा समानुपातिक तर्फ पाएको दुई सिटमा खस आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातीबाट गिता गुरुङको नाम टुंगो लगाएको छ ।





















