हेटौंडा| जनता समाजवादी पार्टी, नेपालका सांसदहरुले आ–आफ्नो जातीय पहिचान झल्किने पोशाकमा शपथ ग्रहण गर्ने भएका छन् ।
सबैको पहिचान र अस्तित्वको सवाललाई प्रार्थमिकताका साथ उठाउने पार्टीका लागि आ–आफ्नो भाषा र पोशाकमा सांसदहरुले शपथ लिने कुरा स्वभाविक रहेको प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
यद्यपी सांसदहरुलाई राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक छनौटको सुविधा भने रहेको उनले बताए । शपथ लिँदा केही सांसदहरुले मातृभाषामा पनि लिने उनको भनाइ छ ।
संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथ ग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार, आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ ।
नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने भएका हुन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बुधबार नै शपथ गराएकी थिइन् ।






















