जसपाको संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुने

हेटौंडा टुडे
२०७९ पुष १२, मंगलवार १५:०९ गते

हेटौंडा|सत्तारुढ गठबन्धनको दल जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ।

संसद्‌मा प्रतिनिधित्व गर्ने प्राय सबै दलले संसदीय दलको नेता चयन गरिसकेपनि जसपाले भने दलको नेता चयन गर्न सकेको छैन। दलको नेता चयनका लागि बुधबार मतदान हुने गरी कार्यतालिका तय गरिएको छ।

जसपाले बुधबार बिहान ११ देखि १२ बजेसम्म दलको नेताका लागि उम्मेदवारहरुको मननोयन पत्र दर्ता गर्ने समय तोकेको छ। यस्तै, १२:३० बजेसम्म  उम्मेदवारको नामावली प्रकाशन, १:३० बजेसम्म नाम फिर्ता लिने र २ बजेसम्म दाबीविरोधका लागि समय निर्धारण गरिएको छ।

दिउँसो २:३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २:३० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका छ। यस्तै, ३:३० बजेसम्म मतदान जारी रहने र त्यसपछि लगत्तै मतगणना गरेर परिणाम सार्वजनिक गरिने जसपा संसदीय दलको निर्वाचन समितिले जानकारी दिएको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि संसदीय दलको नेताका लागि नेता अशोक राई प्रमुख दाबेदार छन्। राईको नाममा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत् दलको नेता चयन गरिने लागिएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*