हेटौंडा| जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको निर्वाचन हुँदैछ । मंगलबार बसेको संसदीय दलको बैठकले सहमति जुटाउन नसकेपछि निर्वाचन नै हुने भएको हो ।
जसपाको निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय छ ।१२ बजेदेखि दिउँसो १२ः३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, १२ः३० बजेदेखि १ः३० बजेसम्म नाम फिर्ता लिने, १ः३० बजेदेखि दिउँसो २ बजेसम्म दाबी–विरोध गर्ने र दिउँसो २ बजेदेखि २ः३० बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ ।
दिउँसो २ः३० बजेदेखि ३ः३०सम्म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
संसदीय दलको नेतामा संघीय परिषद् अध्यक्ष अशोक राईसँगै कार्यकारिणी सदस्यत्रय राजकिशोर यादव, रामसहाय यादव र नवलकिशोर साह छन् । मंगलबार पनि उनीहरू सबै टसमस रहेपछि सहमति नजुटेको नेताहरूले बताएका छन् ।
संघीय निर्वाचनमा पराजय भोगेका अध्यक्ष उपेन्द्र यादव भने राईलाई संसदीय दलको नेता बनाउन चाहन्छन् ।
प्रतिनिधि सभामा जसपाका १२ सांसद छन् ।






















