हेटौंडा|बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रादेशिक प्रहरी अस्पताल तथा विधिविज्ञान प्रयोगशाला निर्माण गर्ने भएको छ । प्रदेश प्रहरी कार्यालयले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ हटियामा २५ सैय्याको अस्पताल निर्माण गर्ने भएको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले प्रदेशमा कार्यरत प्रहरी तथा पूर्वप्रहरी कर्मचारी एवम् उनीहरुको परिवारको उपचार सेवा प्रदान गर्नको लागि अस्पताल निर्माण गर्न लागिएको जानकारी दिइन् ।
प्रहरी अस्पताल निर्माणका लागि संघीय सरकारको मन्त्रिपरिषद्को २०७८ साल फागुन ५ गतेको निर्णयअनुसार हेटौंडा–१७, हटियास्थित ४ विगाहा जग्गा ३० वर्षका लागि भोगाधिकार रहने गरी सोमबार मालपोत कार्यालय मकवानपुरले प्रदेश प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ ।
सोमबार बागमती प्रदेश प्रहरी प्रमुख बज्राचार्य र मालपोत कार्यालय मकवानपुरका प्रमुख ओम बहादुर अधिकारीबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


















