हेटौंडा| फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि माैन अवधि सुरु भएकाे छ। सोमबार मध्यरातिदेखि मौन अधवि सुरु भएको हाे।
निर्वाचन आयाेगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न हिजाे मध्यरातबाट माैन अवधि शुरु भएकाे हाे। मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था छ ।
यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमबाट जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने उल्लेख छ ।
राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका तर्फबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।






















