हेटौंडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले शनिवार हेटौंडामा पत्रकारद्वय राजन घिमिरे र पोष्टराज अधिकारी ‘कुमार’ सहित कलाकार सुलेमान शंकर इकुलाई पुरस्कृत गरेको छ । संघले चलचित्र पत्रकार संघ नेपालको २४ औ स्थापना दिवसको अवसर पारेर उनीहरुलाई हेटौंडामा नगद सहित पुरस्कृत तथा सम्मानित गरेको हो । तीन दशकदेखि चलतित्र पत्रकारीता गर्दै आएका पत्रकार राजन घिमिरेलाई संघले १० हजार राशी सहित पुरस्कृत गरेको छ । उनी संघको केन्द्रीय संस्थापक सदस्य समेत हुन् ।
यस्तै संघले यस वर्षको चलचित्र पत्रकारिता पुरस्कार –२०८० चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’लाई प्रदान गरेको छ । अधिकारीलाई नगद ५ हजार राशी सहित सम्मानपत्र प्रदान गरिएको हो । उनी दुई दशक देखी मकवानपुरमा रहेर पत्रकारितामा क्रियाशील रहदैँ आएका छन् ।
सोही अवसरमा यस वर्ष चलचित्र कलाकर्मी सम्मान–२०८० कलाकार सुलेमान शंकर ईकुलाई प्रदान गरीएको छ । उनलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरीएकोे थियो । मकवानपुरमा जन्मिएर राष्ट्रिय स्तरको कलाकारितामा सक्रिय रहेका सुलेमान शंकरलाई दर्शकले ईकु नामले चिन्दछन् । हाँस्य टेलिचलचित्रबाट कलाकारिता गरेका उनले चलचित्र निर्माण समेत गरेका छन् ।
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएकोे कार्यक्रममा प्रमुख अतिथि हेटौडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले पुरस्कृतहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । बधाई दिदै उपप्रमुख बानियाँले पत्रकारिता र कलाकारितामा अझ सक्रिय हुन आग्रह गरे । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष समीर बलामी, हेटौडा २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, हेटौडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, नेपाल पत्रकार महासंघ एशोसियट अध्यक्ष बैकुण्ठ पराजुली, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, ब्रोडकाष्टिङ्ग एशोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, एनएस सिनेमाहलका संचालक नवराज आचार्य, कलाकार तथा निर्माता सुशान्त कुमार श्रेष्ठ, लगाएत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।