हेटौडा । हेटौडा –११ मा रहेको सहिद स्मारक बिकास समितिले यो वर्षको सहिद दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ । सहिद स्मारक बिकास समितिले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरेर विभिन्न कार्यक्रमको आयोजना गरेर साताव्यापी रुपमा दिवस मनाउने जानकारी दिएको हो । समितिका सचिव रघुनाथ खुलालका अनुसार सप्ताहव्यापी कार्यक्रम माघ १० गतेबाट १६ गतेसम्म सञ्चालन हुनेछन् ।
सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन माघ १० गते वुद्धको प्रतिमा अनावरण गर्ने कार्यक्रम तय भएको छ ।
माघ ११ गते कृषि, हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रवर्द्धन मेला, माघ १२ गते वडास्तरीय नृत्य फ्रतियोगिता, माघ १३ गते रक्तदान कार्यत्रम, माघ १४ गते वतृत्वकला प्रतियोगिता, माघ १५ गते सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण तथा शिक्षक खुला दौड प्रतियोगिता आयोजना गरिने उनले जानकारी दिए ।
माघ १६ गते सहिद दिवसको दिनमा प्रभातफेरी कार्यक्रम आयोजना गरिने भएको छ । उक्त दिनमा स्मारक गेटबाट प्रभातफेरी सुरु हुनेछ भने श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण गरिने खुलालले जानकारी दिए ।