
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु भएको हो । सोमबार साँझ ५ बजेर ३० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६, पुलचोकमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा ४ ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा प्र ०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट स्कुटरमा सवार चितवन जिल्लाको भरतपूर महानगरपालिका–२, क्षेत्रपुरका २८ वर्षीय आकास बरामु र सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका–७ का २८ वर्षीय बुद्ध लामा घाइते भएका थिए ।
बसको ठक्करबाट गम्भीर घाईते भएका बरामु र लामालाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । टाउकोमा चोट लागेर गम्भीर भएका बरामुको उपचारको क्रममा सोमबार राती ११ बजेर ४४ मिनेटको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले बसचालक उदयपुर जिल्लाको चौरण्डीगढी नगरपालिकाका ३० वर्षीय नवीन थापालाई मनहरी बजारबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

