हेटौंडा। राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ। गत शुक्रबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको उक्त रिटको सुनुवाइका लागि न्यायाधीश सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेशी चढेको छ।
सरकारले चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि अधिवक्ताद्धय प्रतिभा उप्रेती र अनन्तराज लुईंटेलले राजदूत फिर्ता गर्ने सरकारको निर्णय बदरको माग गर्दै आज सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।
रिटमा अन्तरिम आदेशको माग गरिएको छ । कामचलाउ सरकारलाई दूरगामी महत्वको राष्ट्रिय विषयमा निर्णय गर्ने अधिकार नरहेको रिट निवेदकको दावी छ ।
नयाँ राजनीतिक परिस्थितमा अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरू फिर्ता गर्ने प्रचलन यसअघि भए पनि चुनाव गर्नुपर्ने मूल म्याण्डेट पाएको सरकारले राजदूतलाई बोलाउने र नयाँ नियुक्ति गर्ने खेलमा लाग्नु अस्वभाविक मात्रै नभइ संविधान र राजनीतिक म्याण्डेटको समेत बर्खिलाफ भएको रिट निवेदकको जिकिर छ।





















