हेटौंडा अस्पतालमा एनआइसीयू सेवा सुरु ।

हेटौंडा टुडे
२०८३ श्रावण २९, शुक्रबार २२:२० गते

 

हेटौंडा ।  हेटौंडा अस्पतालले नवजात शिशुको जटिल अवस्थाको उपचारका लागि सघन उपचार सेवा सुरु गरेको छ । अस्पतालले मंगलबारदेखि आठ बेड क्षमताको नवजात शिशु सघन उपचार कक्ष (एनआइसीयू) सञ्चालनमा ल्याएको हो ।

सेवा सुरु भएको पहिलो दिनमै मंगलबार शल्यक्रियामार्फत जन्मिएका दुई नवजात शिशुलाई एनआइसीयूमा भर्ना गरी उपचार थालिएको अस्पतालका बालस्वास्थ्य विशेषज्ञ डा. हरिबहादुर खड्काले जानाकारी दिए ।  एनआइसीयूमा जन्मिएको २८ दिनसम्मका नवजात शिशुको जटिल अवस्थाको उपचार गरिनेछ ।

यसअघि एनआइसीयू सुविधा नहुँदा जोखिमयुक्त नवजात शिशुलाई थप उपचारका लागि चितवन वा काठमाडौं लैजानुपर्ने अवस्था थियो  । अस्पतालमै एनआईसीयू सेवा सुरु भएकाले नवजात शिशुको जटिल अवस्थाको उपचारका लागि अन्यत्र लैजानु नपर्ने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एव हेटौंडा अस्पतालका अध्यक्ष भीमसागर गुरागाईंले वताए ।

एनआइसीयूसँगै अस्पतालमा १ महिनादेखि १४ वर्षसम्मका बालबालिकाको जटिल अवस्थाको उपचारका लागि आठ बेडको बाल सघन उपचार कक्ष (पीआइसीयू) पनि संचालनमा ल्याइएको उनले बताए । बागमती प्रदेश सरकारको ३ करोड ७२ लाख बजेटबाट एनआइसीयू र पीआइसीयू सञ्चालनमा ल्याइएको प्रतिष्ठानका प्रवक्ता उत्सव चौलागाईले बताए ।

डा. खड्काका अनुसार एनआइसीयू सञ्चालनपछि गर्भवतीले प्रसूति सेवाका लागि हेटौंडा अस्पताल रोज्ने क्रम बढ्ने अपेक्षा गरिएको छ । नवजात शिशुको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेपछि स्थानीयस्तरमै सुरक्षित प्रसूति तथा बाल उपचार सेवा विस्तार हुने उनको भनाइ छ ।

एनआइसीयू संचालनका लागि चार जना मेडिकल अधिकृत, १८ जना स्टाफ नर्स, चार जना स्वीपर र दुई जना सुरक्षागार्ड परिचालन गरिएको छ । अस्पतालले थप दुई जना बालस्वास्थ्य विशेषज्ञ नियुक्त गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ । हेटौंडा अस्पतालमा हाल २४ बेडको बालबालिका वार्ड, चार बेडको स्पेशल नियोनेटल केयर युनिट र चार बेडको पोषण पुन स्थापना केन्द्रसमेत संचालनमा छन् ।

एक महिनाअघि हेटौंडा अस्पतालमा करिब ४ करोडको लगानीमा १६ वटा वटा हेमोडाइलायसिस मेसिन खरिद गरेर दैनिक ६० जना विरामीलाई डायलासिस सेवा दिँदै आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संचालन हुँदै आएको प्रादेशिक हेटौंडा अस्पतालमा आठ वटा आइसीयू छन्  ।

अस्पतालमा अहिले १२ जना विशेषज्ञसहित १०९ जना चिकित्सक कार्यरत छन् । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचार गरेर ५ सय ४७ जना कार्यरत छन् । यो अस्पतालमा गत आवमा ३ लाख २५ हजार ६ सय जनाले सेवा लिएका थिए । दैनिक १ हजार ७ सयदेखि १ हजार ८ सय जनाले अस्पतालबाट स्वास्थ्य सेवा लिँदै आएका छन् । गत आवमा  उक्त अस्पतालमा ३ हजार ५ सय ६ जना सुत्केरी भएका थिए । तीमध्ये २ सय ३९ जना २० वर्षमूनिका थिए ।

कान्तिपुरबाट साभार

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*