हेटौँडा बसपार्कमा पार्किङ विवादमा हतियार प्रहार: ४ घाइते, ४ जना पक्राउ

हेटौंडा टुडे
२०८३ श्रावण २९, शुक्रबार २२:५० गते

हेटौडा ।  हेटौँडा उपमहानगरपालिका–१० स्थित बसपार्कमा गाडी पार्किङको विषयलाई लिएर बिहीबार बिहान करिब ११:३० बजे भएको विवादमा धारिलो हतियार प्रहार हुँदा चार जना घाइते भएका छन्। उक्त घटनापछि घाइतेहरूलाई हेटौँडामा प्राथमिक उपचार गराई थप उपचारका लागि चितवन पठाइएको छ भने घटनामा संलग्न रहेको आरोपमा चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिका–१ मकरी बस्ने ३०/३१ वर्षीय लक्ष्मण बर्तौलासँग गाडी पार्किङको विषयमा झै-झगडा भएको थियो।

सोही विवादका क्रममा बर्तौलाले अन्य सहयोगीहरू बोलाई धारिलो हतियार प्रहार गरेको आरोप छ । हतियार प्रहारबाट मकवानपुर मनहरी–६ का २७ वर्षीय जीवन गोले, ओखलढुङ्गा सिंहदेवी–७ का २८ वर्षीय राइज आले मगर, चितवन राप्ती–२ का ३२ वर्षीय राम बहादुर पाख्रिन र चितवन राप्ती–४ का २८ वर्षीय जीवन तामाङ घाइते भएका छन्। घाइतेमध्ये गोले र पाख्रिनको अवस्था मध्यम रहेको छ भने मगर र तामाङको अवस्था सामान्य रहेको छ। घटनालगत्तै प्रारम्भिक उपचारका लागि गोले र आले मगरलाई हेटौँडा अस्पताल तथा पाख्रिन र तामाङलाई सीएमसी हेटौँडा अस्पताल भर्ना गरिएको थियो। पछि थप उपचारको लागि चारै जनालाई चितवनतर्फ पठाइएको प्रहरीले जनाएको छ।

घटना लगतै जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी बसपार्क र वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको टोलीले फरार रहेकाहरूको खोजी तीव्र पारेको थियो। प्रहरी टोलीले मुख्य आरोपी लक्ष्मण बर्तौलासहित हेटौँडा–१२ का ३३ वर्षीय सुनिल थिङ्ग, हेटौँडा–१५ का २८ वर्षीय करन लामा र मनहरी–१ का २३ वर्षीय उज्ज्वल बर्तौलालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*