भाडा वृद्धि गरेको भन्दै उद्योग संघको ७ दिने अल्टिमेटम पत्र

हेटौंडा टुडे
२०७९ मंसिर २३, शुक्रबार १५:३२ गते

हेटौंडा। उद्योग संघ मकवानपुरले औद्योगिक क्षेत्रको भाडा वृद्धि गरेको भन्दै हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा ७ दिने अल्टिमेटमपत्र बूझाएको छ । भूकम्प, नाकाबन्दी, कोभिड र पछिल्लो समय रुस–युक्रेन द्वन्द्वले थलिएको औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न उद्योगीले चेतावनी दिएका हुन् ।

उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागत राज प्याकुरेलले शुक्रबार हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विनाडीलाई अल्टिमेटम पत्र हस्तान्तरण गर्नुभयो हो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकतर्फी रुपमा २०७५ सालदेखि लागु हुने गरी ७ सय प्रतिशसम्म जमिनको भाडा वृद्धि गर्ने निर्णय नियमसंगत नभएको संघको दावी छ ।उद्योगीको विमतिपछि २०७९ साल साउन ३ गते १५ दिनको समयसीमा दिएर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा गठित समितिले प्रतिवेदन समेत नबुझाएको अवस्थामा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगीलाई २०७५ सालदेखिकै बढेको भाडा भुक्तानी गर्न ताकेता गरेको भन्दै उद्योगीले विरोध जनाएका छन् ।

हेटौंडा औद्योगिक क्षेत्रमा १ सय ४५ वटा उद्योग दर्ता रहेको र १ सय १४ वटा उद्योग सञ्चालनमा रहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयका प्रमुख भोजराज विनाडीले जानकारी दिनुभयो । नयाँ भाडादर लागू गरिएपछि केही उद्योगले भाडा बुझाए पनि अधिकांशले भाडा नबुझाएको उहाँले बताउनुभयो । हेटौंडा औद्योगिक क्षेत्रमा वार्षिक प्रतिरोपनी ८ हजार ३ सय ३१ रुपैयाँ ७५ पैसा भाडा दरलाई वृद्धि गरी १६ हजार २ सय रुपैयाँ कायम गरिएको छ । अल्टिमेटमपत्र बुझाउन उद्योगी व्यवसायीको समूह उद्योग संघ मकवानपुरको कार्यालय परिसरबाट व्यानरसहित हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालय पुगेको थियो । उद्योगीले विरोधस्वरुप हातमा कालोपट्टी पनि बाँधेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*