
साउन ११,हेटौंडा।/नेपाली काँग्रेस मकवानपुरगढी गाउँ कमिटीले श्री भानु माद्यामिक विद्यालयमा नयाँ १२ कोठे भवन निर्माणमा गम्भीर लापरबाही भएको भन्दै त्यसको भत्सर्ना गरेको छ । काँग्रेस गाउँ कमिटीका सभापति राजबिर मोक्तानद्वारा जारी गरिएको विज्ञप्तिमा विद्यालयको भवन निर्माण गर्दा प्राविधिक र निर्माण समितिको मिलेमतोमा स्वीकृत नक्सा विपरित काम भएको र तोकिएको मापदण्डसमेत पुरा नगरिएको भन्दै भवन सम्बन्धि विज्ञ ल्याएर भवन गुणस्तरीय भए नभएको अनुगमन गर्नुपर्ने माग गरिएको छ ।
विद्यालयले भवन निर्माणमा गम्भीर लापरबाही गरेर विद्यार्थीको जीवनमाथिनै खेलवाड गरिरहेको विज्ञप्तीमा भनिएको छ । सरोकारवाला निकायले भवन सम्बन्धि विज्ञ ल्याएर आवश्यक अनुगमन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरिएको छ । त्यसैगरी सम्झौता बमोजिम निर्माणको काम सम्पन्न नगरी विद्यालयले झुटो प्रतिवेदन, बीलभपाईसमेत खडा गरी भुक्तानीको लागि शिक्षा विकास निर्देशनालयमा फाइल पेश गर्ने जस्ता गतिविधि गरिरहेको भन्दै काँग्रेस गाउँ कमिटीले आपत्ती जनाएको छ ।
गाउँ कमिटीका सभापति मोक्तानले विभिन्न संचारमाध्ययमहरुमा समेत भानु माविको भवन निर्माणमा भएका लापरबाही र अनियमितताबारे समाचार आइसक्दा पनि विद्यालय गल्ती ढाकछोप गर्न लागिपरेको बताए ।

