हेटौंडा/पेट्रोलियम पदार्थमा मिसावट गर्ने हेटौंडाका एकसहित २ जना ट्याङ्कर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जितपुरसिमरा उपमहानगरपालिका–२१ बस्ने २६ वर्षीय राजेश विश्वकर्मा र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर बस्ने २९ वर्षीय सन्तोष खड्का रहेका छन् ।
नेपाल आयल निगम अन्तर्गत अमलेखगंज डिपोमा निगमको करारनामामा रहेकामध्ये ना.७ ख ३९२३ र ना.७ ख ४०९३ नम्बरको ट्याङ्करमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा पेट्रोलियम पदार्थमा मिसावट गरेको पाएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका विश्वकर्मा ना ७ ख ३९२३ को ट्याङकर चालक र खड्का ना ७ ख ४०९३ को ट्याङ्कर चालक हुन् ।
निजहरूलाई पक्राउ गरी कालो बजार तथा अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।