हेटौंडा । देशकै ऐतिहासिक र सबैभन्दा ठूलो गढीको रुपमा रहेको मकवानपुरगढीको नाममा साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ ।
मकवानपुरगढी गाउँपालिका क्षेत्रका घटना र विचारलाई समेट्दै हरेक हप्ता आइतबार पत्रिका प्रकाशन हुने भएको हो । भौगोलिक विकटतालगायतका कारण अधिकांश गाउँपालिकाबासी सूचनाबाट बञ्चित हुनुपरेको अवस्थाले मकवानपुरगढी पत्रिका जन्मिएको छ । गाउँपालिकका ८ वटै वडामा पत्रिका वितरण हुनेछ ।
आइतबार गाउँपालिका अध्यक्ष बिदुर हुमागाईं, उपाध्यक्ष हर्कमाया रुम्बा, प्रमुख प्रशासकीय अधिृकत रामकुमार पुडासैनीले पत्रिका लोकापर्ण गरेका छन् । पत्रिका प्रकाशनलाई निरन्तरताको शुभकामना दिँदै जनताका वास्तविक पिर, मर्का थाहा पाउने र गाउँपालिकाले गरेका काम, कारबाहीका बारेमा स्थानीयलाई सूसुचित गराउन पत्रिकाले भूमिका खेल्ने अध्यक्ष हुमागाईंले विश्वास व्यक्त गरे ।
रेवतीप्रसाद तिमल्सिनाद्वारा प्रकाशित पत्रिकाको लागि सम्पादक कबिराज हुमागाईं, सह-सम्पादक श्रीराम अर्जुन रहेका छन् । कार्यक्रमममा बोल्दै प्रकाशक तिमल्सिनाले भैगोलिक रुपले विकट क्षेत्रमा साप्ताहिक पत्रिका प्रभावकारी हुने बताए ।
पत्रिका लोकापर्ण अध्यक्ष हुमागाईंले मकवानपुरगढीको विकास उदाहरणीय भएको बताए । ‘सबैले जिल्लाकै १० स्थानीय तहहरु मध्ये मकवानपुरगढीमा धेरै विकास भएको दावी गरिरहेका छन् । यस्तो दावी गरेपनि मलाई भने धेरै विकास गर्न सकिरहेको छैन जस्तो लाग्छ । तर, जति विकासका काम भएका छन् सबै उदाहरणीय छन् ।’, उनले भने ।
प्रकाशक तिमल्सिनाको अध्यक्षता र गाउँपालिक अध्यक्ष हुमागाईंको प्रमुख आतिथ्यतामा भएको पत्रिका लोकापर्ण कार्यक्रममा प्रेस संगठनका बागमती प्रदेश सहसंयोजक सुनिल खड्का, शिक्षा पत्रकार समूह प्रदेशका अध्यक्ष ध्रुव अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका कोषाध्यक्ष सुदीप शिवाकोटी तथा गाउँपालिकाका शाखा प्रमुखहरुको आतिथयता रहेको थियो ।






















