आकस्मिक बाहेकका अप्रेशन नगर्न अस्पताललाई सरकारको निर्देशन

टुडे संवादाता
२६ आश्विन २०७७, सोमबार १७:४१

काठमाडौं/सरकारले कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा लक्षण सहितका कोभिड-१९ संक्रमितलाई मात्रै राख्ने निर्णय गरेको छ।

कीर्तिपुरसँगै मनमोहन शिक्षण अस्पताल दहचोकको आइसोलेसनलाई स्तरोन्ति गर्दै कोभिड अस्पतालका रुपमा विकास गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। आइतवार मन्त्रालयमा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बैठकले यस्तो निर्णय गरेको गौतमले जानकारी दिएका हुन्।

यसैगरी सार्वजनिक यातायातमा कोभिड १९ को जोखिम रोक्न डिसइन्फेक्सन गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले आग्रह गरेको छ। मापदण्ड पालना नगर्नेलाई भने कारवाही गरिने मन्त्रालयले जनाएको छ।

गौतमले चाडपर्वका नाममा संक्रमण नबढाउन आग्रह गरे। ‘चाडपर्व मनाउने खालको सामान्य वर्ष नभएकाले जो जहाँ जस्तो अवस्थामा छौं त्यहीँ मनाउ। चाडवाडका नामा संक्रमण बढाउने काम नगरौं,’ उनले भने।

यस्तै जेष्ठ नागरिक तथा दीर्घ रोगीहरुको अरु मान्छेसँग भेट नहुनेगरी स्थानीय तहले वडा स्तरमा क्लब र गुठीको सहयोगमा निगरानी गर्न पनि सरकारले निर्देशन दिएको छ।

मन्त्रालयले यात्रा गर्नुपूर्व ७ दिन अनिवार्य क्वारेन्टिनमा बस्न र कोरोनाको लक्षण देखिए यात्रा स्थगित गर्न पनि निर्देशन दिएको छ।

‘कहि कतै यात्रा गर्ने योजनामा छौं भने आफू र आफूसँग जाने सदस्यले जानु पूर्व ७ दिन क्वारेन्टिन बस्ने र कोभिडसँग मिल्ने लक्षण नभए मात्रै गर्ने र भएमा स्थगित गर्ने,’ गौतमले भने।

आइसीएसले काठमाडौं उपत्यकाका अस्पताललाई आकस्मिक बाहेकका अप्रेशन नगर्न निर्देशन दिएको छ। ‘आकस्मिक बाहेकका नियमित अप्रेशन हाललालाई नगर्न र संक्रमण नियन्त्रण हुँदै गएपछि मात्रै गर्न उपत्यका सबै अस्पताललाई निर्देशन दिइएको छ,’ गौतले भने।

आवतजावत घटाउन कार्यालयको दिन घटाउने व्यवसाय सञ्चालनको मोडालिटी परिवर्तन गर्ने निर्णय पनि भएको छ।

अस्पतालले अब होटलसँग मिलेर आइसोलेसन चलाउन सक्ने भएका छ्न्। सञ्चालनका लागि मन्त्रालयको स्वीकृति भने अनिवार्य भएको गौतमले बताए।

तर संक्रमित बाहेकका मानिसलाई भने राख्न नपाइने मन्त्रालयको भनाई छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*