यसै दिन मासको दाल र चामल मिसाएर घिउ हालेर बनाइएको खिचडी पनि खाने चलन छ । बागमती अञ्चल आयुर्वेद औषधालयका प्रमुख डा. अञ्जु कार्कीका अनुसार जाडोयामको मध्यमा यस्तो खाद्य पदार्थले शरीरमा ऊर्जा दिन्छ । उनले भनिन्, ‘‘ताप सन्तुलनमा राख्छ र चिसोबाट जोगाउँछ । रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । शरीरलाई निरोगी राख्छ । चर्म रोग हुनबाट जोगाछ । ’’ कन्दमूलले पाचन शक्ति बलियो बनाउँछ । उहाँले सङ्क्रान्तिका दिनबाहेक जाडोयामभरि नै यी पदार्थ नियमित भोेजन गर्नुपर्ने सल्लाह दिइन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी सूर्य उत्तरायण हुने भएकाले यो दिनलाई मकर सङ्क्रान्तिसमेत भन्ने गरिन्छ । यही दिनदेखि दिन लामो र रात छोटो हुँदै जान्छ भन्ने मान्यता छ । उपत्यकासहित मुलुकका २२ जिल्लामा रहेका थारू समुदायले यो दिन उत्सवका साथ माघी पर्व मनाउने गर्छन् । काठमाडौँ उपत्यकाको नेवार समुदायमा सलहँु भनेर यी परिकार भोजन गर्ने र आमाको हातबाट सन्तानले शरीरमा तोरीको तेल लगाउने प्रचलन छ । संस्कृतिविद् चुन्दा वज्राचार्यले काठमाडौंँ उपत्यकालगायत नेवार समुदायमा घिउ, चाकु खाने सङ्क्रान्ति भएर घिउ, चाकु सलहुँ भनिएको बताइन् । उनले यस दिनबाट सूर्य कर्कट राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति भनिने बताइन् । पोषणविद् डा. अरुणा उप्रेतीले घिउलाई सन्तुलित रूपमा प्रयोग गर्न सकेमा शरीरलाई ताप प्राप्त गर्ने जानकारी दिइन् । गोरखापत्र दैनिकमा खबर छ ।













