
काठमाडौं । कोरोना खोप आज सातै प्रदेशका भण्डारण केन्द्रमा पुर्याइने भएको छ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भण्डारण केन्द्रबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने मन्त्रालयले जनाएको हो ।
पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । सम्भवतः आगामी बुधबारदेखि नै खोप लगाउन सुरु गरिने मन्त्रालयले जनाएको छ ।
पहिलो चरणको खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पतालबाट खोप लगाइनेछ । काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।
पहिलो खोप लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा जागेश्वर गौतमले जानकारी दिए । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

