
हेटौंडा /हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिमाचोकको सडकपेटीमा एकजना शारीरिक अशक्त बस्ने गर्दछन् । ती व्यक्ति हुन् कृष्ण बहादुर कार्की । कार्कीले लामो समयदेखि सडकको पेटीमै बसेर आफ्नो जिवीको पार्जन गर्दै आईरहेका छन् । घाम,पानि भोक प्यास चिसो रात उनका लागि नियती जस्तै भईसकेको छ ।
सीमाचोकको सडकपेटीको छेउमा एउटा ह्वील चियर र त्यसमाथि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको फोटोसहितको ब्यानर र अगाडि पत्रिका राखेर बाटोमा हिंड्नेहरुले सहयोग गर्ने अपेक्षासहित उनी सधैँ सडकपेटीमै बस्ने गर्दछन् ।
हेटौंडा १० स्थित भूटनदेवीमा घर बताउने कृष्ण बहादुर कार्कीको जीवन पहिला सामान्यरुपमै चलेको उहाँ बताउनुहुन्छ । केही वर्ष पहिला उहाँ डकर्मी काम गर्दथे । डकर्मीकाम गर्दैगर्दा एकदिन कार्की ३ तले घरबाट खस्न पुगेछन् । खुट्टामा किल्ला गढ्यो । खुट्टामा किल्ला गढे पश्चात उहाँले दायाँ गुमाउनु परेको उहाँले गहभरी आँसु झार्दै सुनाउनुहुन्छ । घरमा कमाउने मुख्य व्यक्तिले दायाँ खुट्टानै गुमाएर अशक्त भएपछि उहाँको जीवनमा दुखका दिनहरु सुरुभएको उहाँले बताउनुभयो ।
कार्कीको परिवारमा श्रीमती र ४ जना छोराहरु छन् । श्रीमती पनि बिरामी रहेको र २ जना छोराको विद्यालय भर्ना गर्ने उमेर भएता पनि आर्थिक स्थिति कमजोर भएकाले विद्यालय भर्नासमेत गर्न नसेकेको कार्कीले बताउनुभयो । बाँकी दुईजना छोरा सानै उमेरको रहेको उहाँले बताउनुभयो ।
कार्कीको दैनिकी अहिले मागेरै बितिरहेको छ । जीवन निर्वाहका लागि उहाँ बिहानै भूटनदेवी मन्दिर परिसरमा माग्न बस्नुहुन्छ । मन्दिरमा आउने भक्तजनहरुबाट चामल संकलन गर्ने र दिउँसो सीमाचोकमा बस्ने गरेको उहाँले बताउनुभयो । दैनिक एक सयदेखि २ सय रुपैयाँसम्म संकलन हुने सहयोग रकमले गुजारा चलाउने गरेको उहाँले बताउनुभयो । भाडाको घरमा बसिरहनुभएका कार्कीको परिवारमा कमाउने अन्य व्यक्ति नहुँदा जीवन निकै कष्टकर बनिरहेको छ ।
संविधानमा मौलिक हकको रुपमा गाँस, बास, कपासको व्यवस्था गरिएता पनि वास्तविक जीवनमा भने यसको महसुस गर्न नपाएको उहाँले बताउनुभयो ।
आफू एक नेपाली नागरिक भएको र यो देशको एउटा मतदाता रहेको भन्दै आफूलाई परेको समस्याप्रति कसैले वास्ता नगरेकोमा कार्कीले दुःख व्यक्त गर्नुभयो ।
उहाँले विभिन्न व्यक्तिहरुले सहयोग गर्ने भन्दै आउने र आश्वासन दिएपनि कसैले पनि पूरा नगरेको बताउनुभयो । आफ्नो घर नभएको, दुईछाक खानाका लागि पनि समस्या रहेको र छोराहरुको विद्यालय भर्ना गर्नसमेत नसकेको भन्दै गाँस, बास, कपासका लागि सरकारसँग गुहार मागेपनि नसुनेको कार्कीले बताउनुभयो ।

