दोश्रो बकैया साहित्य महोत्सव फागुन दोश्रो साता हुने

टुडे संवादाता
२० माघ २०७७, मंगलवार १९:०३

हेटौंडा/झरना साहित्यिक परिवारको आयोजनामा हुुने दोश्रो बकैया साहित्य महोत्सव फागुन दोश्रो साता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनका आयोजना गर्र्दै झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमले फागुन १४ र १५ गते बकैया गाउँपालिका–५ स्थित प्रभात माविमा महोत्सव हुने जानकारी दिए ।

महोत्सवको पहिलो दिन नवसर्जक रचना वाचन हुनेछ । बालबालिकाहरुमा रहेको साहित्यिक प्रतिभा उजागर गर्ने उद्देश्यले पहिलो दिन बालबालिका विशेष रचना वाचन हुने अध्यक्ष गौतमले बताए । झरनाले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान अन्तर्गत जिल्लाका ६० भन्दा बढी विद्यालयहरुमा बाल साहित्य समिति गठन गरेको छ । उक्त समितिको समन्वयमा साहित्यमा सक्रिय बालबालिकाहरुको प्रस्तुती पहिलो दिन हुने अध्यक्ष गौतमले बताए । पहिलो दिन नै विभिन्न पुरस्कार वितरण हुनेछ । पहिलो दिनमा विभिन्न विषयमा बहसमुलक कार्यक्रम पनि हुने अध्यक्ष गौतमले बताए । महोत्सवको दोश्रो दिन स्रष्टा सम्मान सहित स्थानीय सांस्कृतिक नृत्य र साहित्यिक रचना वाचन हुने छ । यस्तै, झरना साहित्यिक परिवारलाई जग्गा दान गर्ने दाताहरुलाई पनि सोही दिन सम्मान गरिने अध्यक्ष गौतमले जानकारी दिए ।

बकैया साहित्य महोत्सवमा विभिन्न ८ जना स्रष्टाहरुलाई सम्मान गरिने भएको छ । यो वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान सुनसरीका अग्रज साहित्यकार प्रा.डा. भीम उपाध्यायलाई प्रदान गरिने भएको छ । १५ हजार ५ सय ५५ रुपैयाँको यो पुरस्कार नुरप्रसाद गौतमले स्थापना गरेका हुन्। यस्तै, विनोद सुवेदीले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको बाबुलाल–भोजमाया प्रतिभा सम्मान मकवानपुरका अग्रज कवि आरआर चौलागाईँलाई प्रदान गरिँदैछ । रमेशमोहन अधिकारीले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशीको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान अग्रज मुक्तककार ज्ञानुवाकर पौडेललाई प्रदान गरिँदैछ भने अर्पण पराजुली र दर्पण पराजुलीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको खडानन्द–मनमाया स्मृति प्रतिभा सम्मान नुवाकोटकी युवा साहित्यकार सुमित्रा सुमीलाई प्रदान गरिने अध्यक्ष गौतमले जानकारी दिए ।

यस्तै बकैया–४का वडा अध्यक्ष राजन दंगालले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान मकवानपुरकी साहित्यकार रुकु कार्कीलाई प्रदान गरिँदै छ । तुलसी गिरीले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको सञ्जीवनी बुटी साहित्य सेवा सम्मान बकैया–४ का मनहरी लामिछानेलाई प्रदान गरिँदै छ । बकैया गाउँपालिकाले स्थापना गरेको ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरना–बकैया पत्रकारिता पुरस्कारखेम बोलखेलाई प्रदान गरिँदैछ भने चन्द्र कुमार राईले स्थापना गरेको २ हजार ५ सय ५ रुपैयाँ राशीको झरना–बकैया नवप्रतिभा पुरस्कार–बकैया–४ की दीपशिखा घिमिरेलाई प्रदान गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*