
हेटौंडा । मकवानपुर । मञ्जुश्री सम्वत २८५७ औं सोनाम ल्होछार लाङ ल्हो (गाई वर्ग) को अवसरमा बौद्ध सेवा समाज मकवानपुरको आयोजनामा हेटौंडा – १५ कमाने/भोर्लेमा बुधबार शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम भएको छ । समाजले हरेक वर्ष यस अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्दै आएको छ ।
शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङ हेटौंडा उपमहानगर कमिटीका उपाध्यक्ष मोतिलाल लामा (ग्याबा) ले आफ्ना मौलिक संस्कृतिको धरोहर ल्होछार पर्व सबैले घरघरमा मनाउनुपर्ने बताए । ल्होछार पर्वले ऋतु परिवर्तनको अनुभव गराउने उनको भनाई थियो ।
उनले भाषा, पर्व, संस्कृति मुख्यतः समुदायको पहिचानसँग सम्बन्धीत भएकाले यसको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र नीतिगत सुनिश्चितताकालागि सबैले आवाज बुलन्द गर्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा सहभागी सम्पूर्णमा लामाले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा वडा सदस्य पर्सबहादुर भुजेलले ल्होछार जस्तै विभिन्न मौलिक चाडपर्वहरुको संरक्षण र प्रवद्र्धनमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने उल्लेख गरे । यस्तै नेपाली काँग्रेसका कार्यवाहक वडा सभापति नवराज घलानले राज्यले विभिन्न समुदायले परम्परागत रुपमा मान्दै आएका विविध मौलिक चाड, पर्वहरुलाई हेर्ने दृष्टिकोण अझै पनि विभेदकारी रहेको भन्दै आक्रोश व्यक्त गरे । समुदायगत रुपमा मनाइने मौलिक पर्वहरुमा यस अघि दिइदैं आएको एक दिने बिदा समेत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको व्यवहारिक कार्यान्वयनपछि बनेको सरकारले कटौती गरेकोमा उनको आक्रोश थियो ।
यसैगरी जनता समाजवादी पार्टीका वडा कमिटी अध्यक्ष हरि रुम्बाले समुदायगत रुपमा आफ्ना मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनकालागि पहिचानको सुनिश्चितता हुनुपर्ने भनाई व्यक्त गरे । त्यसकालागि सम्बन्धीत समुदायका नागरिकहरुमा राजनीतिक चेतना उठ्नुपर्ने उनले तर्क गरे ।
कार्यक्रममा स्थानिय पेमा होइस्हेर गुम्बाका प्रमुख लामा रुद्रबहादुर रुम्बा, शक्तिश्वरी युवा क्लवका अध्यक्ष सञ्जय लामा, स्थानिय सरोकार समितिका अध्यक्ष गणेश भ्लोन, म्हाणीपा समितिका कोषाध्यक्ष विना लोसहितले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागी सम्पूर्णले एकअर्कामा शुभकामना साटासाट गरेका थिए ।समाजका सचिव नवराज वाईबाले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष भेषबहादुर स्याङतान (मेघराज) को अध्यक्षतामा भएको हो ।

