
हेटौंडा/मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टले न्यायका लागि लडाई लड्ने,साहस दिने,उत्साह भरिदिने सम्पूर्णलाई धन्यवाद ब्यक्त गरेकी छिन् । आईतवार आज पत्रकार सम्मेलन गर्दै विगतमा भएका सबै गतिविधिहरु र नकारात्मक कुराहरु भुलेर आजैबाट आफ्नो जिम्मेवारीमा फर्किएको जनताको सेवामा अहोरात्र खटिएर काम गर्ने बताउनुभएको छ ।
गत फागुन ५ गते उच्च अदालत पाटन हेटौँडा इजलाशले उपाध्यक्ष विष्टलाई पुनः आफ्नो पदीय जिम्मेवारीमा फर्कन परमादेश जारी गरेको थियो । अदालको आदेश पश्चात यसपछी उहाँलाई काम गर्ने बाटो खुलेको हो । आफु अब पनि गाउँपालिकामा सबैसंग मिलेर काम गर्न तयार रहेको वताउनुभयो ।
कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका सदस्य मुनु सिग्देलले गुटगत राजनीतिका कारण उपाध्यक्षको राजीनामा स्वीकृति भएको र अहिले न्याय पाएको वताउनुभयो । जनताको मतमाथीको अपमान अध्यक्षबाट भएपनि अदालतले पुनरबहाली गरिदिएको उहाँले वताउनुभयो ।
न्यायाधीशहरु मोहम्मद साबीर हुसेन र चन्डिराज ढकालको संयुक्त इजलाशले उत्प्रेषण आदेशमार्फत् सबै प्रक्रिया खारेज गर्ने र उपाध्यक्ष विष्टलाई पुन कामकाजमा फर्कन पाउने गरी परमादेश जारी गरेको हो । विष्टले आफुले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलाशमा रिट दायर गरेकी थिइन् ।
उक्त रिटउपर अदालतले उपाध्यक्ष विष्टको पक्षमा फैसला गरेको हो । विष्टको पक्षमा अधिवक्ताहरु शुसिल कुमार पोखरेल, मदन दाहाल, अमृत लामा र शिवप्रसाद बञ्जाराले बहस गरेका थिए । विष्टले गएको मंसिर २९ गते बुझाएको राजीनामा पुस १७ गते गाउँपालिकाले स्वीकृत गरेको थियो ।

