
मकवानपुर । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘लैंगिक हिंसा न्यूनीकरणमा महिला समुहको भुमिका’ विषयक वक्तृत्वकलामा प्रतियोगिता सम्पन्न भएको छ । “महिलाको सुरक्षा, सम्मान र रोजगार: समृद्ध नेपालको आधार” भन्ने मुल नारालाई आत्मसात गर्दै गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा यहि फाल्गुन २१ गते गाउँपालिकाको प्रांगणमा प्रतियोगिता भएको हो ।
प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न महिला सहकारीका महिलाहरुले प्रतिस्पर्धामा भाग लिएका थिए । जसमा सक्रिय महिला साकोसका सञ्जुमाया लामा प्रथम, सृजना महिला साकोसका विमला शाही द्वितीय र श्रमजीवी महिला साकोसका रञ्जना तिमल्सिना तृतिय हुन सफल भएको निर्णायक मण्डलका ठुलीमैया बलामीले बताइन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: ७ हजार,५ हजार र ३ हजार नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको महिला तथा बालबालिका शाखाको प्रमुख कमला देवी शर्माले जानकारी दिए ।
प्रतियोगितामा महाचुनी मा.वि. का प्र.अ. शान्तलाल लामा, कालिकाका सहायक प्र.अ. ठुलीमैया बलामी र पञ्चकन्या मा. वि. का शिक्षक बिरोस माया थिङले निर्णायक मण्डलको भुमिका निर्वाह गरेका थिए ।
इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, कार्यपालिका सदस्यहरु, कर्मचारी, विद्यालयका शिक्षक तथा महिला सहकारीका सदस्यहरुको सहभागिता रहेको थियो ।

