उद्योगी व्यवसायीको सुख दुःखमा उहाँहरु सँगै छु – पूर्व महासचिव राउत

टुडे संवादाता
१ चैत्र २०७७, आईतवार १६:४२

हेटौंडा/ मकवानपुर उद्योग वाणिज्य संघका पूर्व महासचिव एवम् उद्योगी व्यवसायीका नेता महेन्द्र राउतले सहमति, सहकार्य र एकता मार्फत् व्यवसायीमाझ लोकप्रिय र व्यवसायीक हक हितको काम गर्नसक्ने व्यक्तिलाई संघको नेतृत्वमा पुर्याउनुपर्ने बताएका छन् ।

मकवानपुर खाद्यान्न तथा किराना व्यवसायी संघ मनहरीको सातौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै राउतले उद्योगी व्यवसायीको पीरमर्कालाई सम्बोधन गर्दै सुख दुःखमा साथ दिने र व्यवसायीको घरदैलोसम्म पुग्नसक्ने व्यक्तिलाई संघको नेतृत्वको जिम्मेवारी सुम्पिनु पर्ने बताएका हुन् ।

आसन्न निर्वाचनमा मउवा संघको अध्यक्ष पदको उम्मेदवारी दावी गरेका राउतले आम व्यवसायीको आवश्यकता र चाहाना बुझेर इमान्दार र जिम्मेवार व्यक्तिलाई अवसर प्रदान गरिनुपर्ने बताए ।

उनले भने ‘अघिल्लो निर्वाचनमा म प्राविधिक कारणले झिनो मतले पराजित हुनुपर्यो । अघिल्लो निर्वाचमा यहाँहरुले दिनुभएको मतको सम्मान गर्दै यसपटक फेरी उम्मेदवारी दिने तयारीमा छु । साथीहरुबाट प्राप्त राय÷सुझाव र साथ सहयोगका कारण उत्साहित भएर तयारीमा जुटेको छु । मैले निश्वार्थ भावले केही व्यवसायीक हितका एजेण्डा तय गरेको छु । यसपटक पुरा गर्नेछु ।’

उनले केही दिनमा नै आफ्नो चुनावी टिमसहित उम्मेदवारी घोषणा गर्ने बताउँदै सहयोगका लागि अपिलसमेत गरे ।

कार्यक्रममा आयोजक संस्थाले मकवानपुर उद्योग वाणिज्य संघका वर्तमान र पूर्व पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।

मकवानपुर खाद्यान्न तथा किराना व्यवसायी संघका अध्यक्ष वेदमणी सेडांईको अध्यक्षतामा र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*