
हेटौंडा/ नेपाल पूर्वाधार कम्पनीले सु्रुङमार्ग निर्माणका लागी जनतासँग उठाएको रकम फिर्ता गर्न स्वतन्त्र जनदवाव अभियानले मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएको छ ।
स्वतन्त्र जनदवाव अभियानले पूर्वाधार बिकास कम्पनीले जनताबाट उठाएको रकम फिर्ता गर्ने अभियान शुरु गरे संगै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । आज शुक्रबार प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालमार्फत प्रधानमन्त्रि तथा मन्त्रिपरिषद् कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापन पत्र बुझाउदै अभियानको शुरुवात गरिएको हो ।
स्वतन्त्र जनदवाव अभियानका संयोजक अनिलकुमार खातिले ज्ञापनपत्र पेश गर्दै जनताले खसीबोका, कुखुरा बेचेर लगाएको लगानी काम नहुने भएपछि फिर्ता गर्नुपर्नेमा नेपाल पूर्वाधार कम्पनीले त्यसो नगरेको र प्रदेश सरकारले त्यसमा ध्यान नदिई आफैले हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौ सुरुङमार्गको निर्माण गर्ने भनेर उद्घोष गर्नु लाजमर्दो भएको बताउनुभयो ।
२०४५ सालतिरबाटै चर्चामा रहेको हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौ सुरुङमार्गको कुरा राजनितिक दल, व्यवसायी, स्थानिय सरोकारवाला सबैले पटकपटक उठाउदै आए पनि अझै सम्म बन्न नसकेकोमा बागमति प्रदेश सरकारले आब २०७५/०७६ मा बागमति प्रदेशको गौरवको आयोजनाका रुपमा गरिएको घोषणा अझैसम्म पनि सुरुङ मार्गको काममा प्रदेश सरकारले उपलब्धी हासिल गर्न नसकेकोले मकवानपुरका जनता अझै निरास भएको उहाँले बताउनुभयो ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले ज्ञापन पत्रको सम्बन्धमा अध्ययन गरी जनताको रकम उठाउन समन्वय गर्ने बताउनुभयो । साथै आजै प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो । २०७० कात्तिक २५ गते नेपाल पूर्वाधार कम्पनीले काम सम्पन्न गर्ने गरी हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौ सुरुङ मार्गको सिलान्यास गरेकोमा त्यसको ८–९ बर्ष पुगीसक्दा पनि अझै निर्माणका लागि केही काम शुरु नगर्दासमेत सरकार मुकदर्शक बनेकोले जनताको २३ करोडभन्दा धेरै रकम फसेको छ ।
साथै नेपाल पूर्वाधार बिकास कम्पनीले सुरुङमार्ग निर्माण गर्न सबैलाई सेयर लगानी गर्न गरेको आग्रहबाट मकवानपुरका तत्कालिन जिबिस, हेटौडा उपमहानगरपालिका, मकवानपुर उद्योग बाणिज्य संघलगायत बिभिन्न संघ–संस्था र धेरै जनताको लगानी परेको छ ।

